
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
“ओहो माइला यो के ल्यायको ?”- टोपलालले सोधे।
“बाजे यो गरू हो।”- रोमे खिसिक्क हाँस्दै भन्यो।
“गरू अरे ? किन ठट्टा गर्छौ बुढो मानिससँग यस्तो पनि गरू हुन्छ ?”- टोपलाल अलि रिसाए झैँ चर्को बोले।
“हजुर यो साँच्चै गरू हो तर यसलाई घाँस हाल्नुपर्दैन जोत्यो अनि राख्यो। न यसको गोबर सफा गर्नुपर्यो । सजिलो हुन्छ बाजे यो अहिले धान दिवसकै दिन यसको उदघाटन गर्छौँ ।”-रोमे टोपलाललाई सम्झाउँदै भन्यो।
“हाते टेक्रर भन्ने यही हो ?”-टोपलालले उसको चारैतिर घुमे र खुब हेर्दै भने।
“हो ठ्याक्कै पार्नु भयो। यसलाई हलो जुवा,फालो हरिस,नारा, गरू केही चाँहिदैन। बस पेट्रोल राख्यो अनि यसरी जोत छ।”- रोमेले स्टार्ट गरेर नजिकै चलाएर देखायो।
“गजब छ बाबु अब खेत बारी त जोतिन्छन् होला तर आर्गेनिङ्गको भने गाउँमा पनि अनिकाल पर्ने भयो।”- टोपलालले दुःख व्यक्त गरे।
“सबै अर्गेनिङ्ग हुन्छ बाजे किन हुँदैन ?”- रोमेले सोध्यो।
अब गाई गरू नराखेपछि मल रसायनिक आउँने भयो। अनि काँबाट असली अन्नको उत्पादन हुन्छ ?”- प्रविधिको विकासले खेतबारीको माटो समेत खराब हुनेभयो”- टोपलालले चिन्ता व्यक्त गर्दै भने।





