
दलबहादुर शाही
छन्द:-दिक्पाल
सानातिना कुरामा सम्बन्ध माँस्नु हुन्न
कोही दुखी भएमा खित्केर हाँस्नु हुन्न
हुन्छन् हजार पीडा सत्कर्म गर्न थाले
आफ्नै विनाश होला भित्री घमण्ड पाले।
साना ठुलाहरूको सद्भाव बुझ्नुपर्छ
नाताहरू सबैको अस्तित्व राख्नुपर्छ
राम्रै हुनेछ आफ्नो सत्मार्ग अँगाले
आफ्नै विनाश होला भित्री घमण्ड पाले।
होलान् अनेक गल्ती सिक्ने सिकारुभित्र
देखिन्छ दुःखपर्दा को शत्रु को छ मित्र
गर्छन् कहाँ गुनासो बुझ्ने यहाँ सबैले
आफ्नै विनाश होला भित्री घमण्ड पाले।
थोरै मिलेर बस्ने बानी बसाल्नुपर्छ
आई पर्यो भनेमा तारा खसाल्नुपर्छ
कोरिन्छ नाम आफ्नो केही गरी उचाले
आफ्नै विनाश होला भित्री घमण्ड पाले।
सम्पूर्ण व्यक्ति यस्तो हेर्दैछु आज छैनन्
सङ्कष्टमा तपस्या गर्ने बढी हुँदैनन्
सम्मान मान आफैँ पाइन्छ कर्म खाले
आफ्नै विनाश होला भित्री घमण्ड पाले।





