अनन्तकुमार बस्नेत
छन्द: भुजङ्गप्रयात
पुरानो गयो वर्ष पारी निराश
नयाँ झुल्किए घाम बोकी विभास
थपी नव्य ऊर्जा जगत् जग्मगायो
घुमी एक फन्को नयाँवर्ष आयो ।१।
बनी बेहुली रङ्गिए भीर पाखा
झिके कोइलीले मीठो एक भाका
धराधाम वैशाखमा सल्बलायो
चुमी शैलमाथा नयाँवर्ष आयो ।२।
दियो एक चैतन्यको बाल्नलाई
र पर्खाल अन्यायका ढाल्नलाई
सबेरै उषामा स्वयम् मुस्कुरायो
भलो गर्नलाई नयाँवर्ष आयो ।३।
यहाँ देश देखिन्छ नैराश्य लाग्दो
छ चौतर्फको हाल अत्यास लाग्दो
उषा देखिँदा झल्ल उत्साह छायो
जगाएर आशा नयाँवर्ष आयो ।४।
कुनै छन् खराबी भने रोक्नलाई
तथा भ्रष्ट जाली सबै ठोक्नलाई
बनी न्यायको पुञ्ज मानौँ उदायो
लिई एक राँको नयाँवर्ष आयो ।५।
बली धप्प यो रातको अन्ध हर्न
सबैमा नयाँ जोश प्रोल्लास भर्न
छरी चेतना चौदिशा जुर्मुरायो
बनी क्रान्तदर्शी नयाँवर्ष आयो ।६।