निर्मला बराल
भक्तपुर सानो ठिमी
महिना दिनदेखि शहरको एउटा अस्पतालको शैय्यामा लडेकी थिइन श्रवणकी आमा ।
आमाकाे उपचारमा अस्पतालले माेटाे रकम असुली सकेकाे थियाे। श्रवण साेच्दै थियाे , “अब खर्च कसरी जुटाउने?” सरकारले आम नागरिकलाई नदिएकाे नि:शुल्क स्वास्थ्य र शिक्षा सुविधाप्रति उसलाई ठूलाे गुनासाे थियाे। उसले आमाको आँखा हेर्याे। त्यसमा बाँच्ने तिर्सना देख्यो। बुवाको अनुहारमा उसले छट्पटी र निरीहता देख्यो। उसलाई भक्कानाे फुट्ला झैं भएर आयो। त्याे चाेट खप्न नसकेर ऊ बाहिरियो। नि:शुल्क स्वास्थ्य र शिक्षा, स्वदेशमै राेजगारीकाे व्यवस्था सुनिश्चित नगरेकाे बिरुद्ध बाहिर सडकमा सरकार बिरोधी चर्काे नारा लगाउँदै, एउटा आक्राेसित भीड मन्त्री निवासतर्फ अघि बढ्दै थियाे।
पीडा र आक्राेसले श्रवणलाईपनि ठेल्दै ठेल्दै आन्दाेलनकाे अग्रपंक्तिमा लग्याे। अनायास सरकारकाे गाेली चल्याे। भीड तितरवितर भयाे। छातिमा गाेली लागेकाे श्रवण भुइँमा लडेकाे थियाे। सास जानुअघि उसकाे मुखबाट अन्तिम वाक्य निस्कियाे। “….सरकार,. ..सहिदकाे सुविधा चाहिँँदैन,…आम नागरिकलाई….सुविधा देऊ।”