“नाग पञ्चमी”

रामप्रसाद पन्थी
रेसुङ्गा न.पा.२ गुल्मी

साउन् शुक्ल पञ्चमीकाे दिन जुराएर
नाग पूजा गर्ने अरे बिधि पुराएर।
अष्ट नाग पूजा गर्ने भन्नु भयाे बाले
बाबासित मैले पनि पूजा गर्न थालेँ।


अनन्त र बासुकीकाे, पद्म,महापद्म
तक्षक र कुलीरकाे कर्कट् अनि शङ्ख।
चन्द्र, सूर्य, शङ्ख,चक्र साथै काेरें चित्र
माछा,बिच्छी काेर्दा खुसी लाग्याे मन भित्र
चित्र काेरी ठिक्क पारेँ मैले अष्ट नाग
भन्नुभयो बाले अब पूजा गर्न लाग ।
दूध, दही जम्मा गरेँ दुबाे ,फूल टिपेँ
पूजा गर्ने ठाउँ चट्ट गाेबरले लिपें ।
गाेबरकाे कुण्ड बन्याे गाेबरकै नाग
लाबा, दूध चडाएँ है नाग महाराज ।
धूप, दीप , नैवेद्य र भेटी चढाएर
ढाेकामाथि नाग टासेँ धजा अडाएर ।
नाग पूजा सकेपछि टीका पनि लाएँ
नाग पूजा गर्ने किन? ज्ञान धेरै पाएँ ।