“नारी”


गणेश आत्रेय
मदनपोखरा,पाल्पा

आधार माया र दया क्षमाकी।
आलोकिनी शान्ति कला पलाकी॥
सौर्न्दर्यमा अद्भुत कल्पनाकी।
नारी तिमी मौलिक सिर्जनाकी॥

सद्भावना प्रेरक प्रीत न्यारी।
हौ सृष्टिकी मूल विशिष्ट प्यारी॥
आशा भरोशामय द्वन्द्वहारी।
सामर्थ्यशाली बन भव्य नारी॥

अत्यास वित्यास अशक्तता ती।
हेपाइ सन्त्रास विभक्त ताँती॥
फालेर सङ्घर्ष त सिक्नुपर्छ।
नारी तिमी बौरिन सक्नुपर्छ॥

नेपथ्यमा मात्र बसेर हुन्न।
आऊ तिमी सत्कृति धेर बुन्न॥
सम्मान्य भै’ सम्मुख खुल्नुपर्छ।
नारी सबै आपस मिल्नुपर्छ॥

हेला घृणा दम्भ दबाव फाली।
उत्साह आदर्श उमङ्ग पाली॥
नारी तिमी उद्गम स्रोतशाली
मायाँ छरौँ पाउननिम्ति ताली॥