निरुत्तरित प्रश्न

68

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

पहाडबाट काठमाडौंमा दस कक्षामा पढ्दै गरेकी नातिनी भेट्न आएकी बुढी आमाले छोरालाई भनिन् ” घर त दरबारै बनाइछस् तर लुगा सुकिला भए पनि नातिनीको फाटेको पेन्ट देखेर मेरो मन कटक्क खाएको छ।”
आमाको कुरा सुनेर उनी केही बोलेनन् , बरु भान्सामा रहेकी श्रीमती र छोरीलाई भने” कता न आमा आउनु भएको छ।गाउँमा बसेकीले उहाँलाई केही थाहा छैन । यसैले उहाँले जे बोले पनि सहनु,केही जवाफ नदिनु ।”
बुहारी आएर सासु आमालाई दूध दिइन। त्यही मौका छोपेर उनलेे मनको कुरा लुकाउन नसकी बताइन् ” गाउँमा बरु छोराछोरीमा भेदभाव गर्नु हुँदैन भन्ने चेतना पसेको छ। तिमीहरूले सन्तानमा एउटी छोरीलाई पनि भेदभाव गरेछौ। म आएपछि तीन पटक पैन्ट फेरि तर सबै फाटेका । घरमा आएका मानिसहरुले काम गर्न राखेकी केटी सम्झे होलान् ।”
पतिको केहीबेर अगाडिको कुरा सम्झेर बुहारी केही पनि बोलिनन्। मनमनै सोचिन् ` यही भएर होला शहरमा बस्नेले गाउँका मानिसलाई पाखे भन्ने ।´
सुत्नेबेलामा नातिनीले हजुरआमाको लागि तातोपानी लगिदिइ र फर्कन लाग्दैगर्दा उनलेे आँखाबाट आँसु चुहाउँदै भनिन् ” तिम्रो फाटेका लुगा देख्दा मेरो मन साह्रै अमिलो भयो ,यो पाँच सय रुपैयाँले राम्रो पैन्ट किनेर लाउनु ।”
नातिनीले अस्वीकार गर्दै सोधिन् ,पर्दैन । किन दिनु भएको ?”
“तिम्रा सबै पेन्ट फाटेका रहेछन् । यस्तो लगाएको देख्दा मैले लगाएको सुनको मढेउरीले खिज्याइरहेको भान भएर मलाई निद्रै लागेको थिएन।”