
हेमराज अधिकारी
सिक्किम
ओए कमलनाथ, आज भाङ खाने दिन हो, हिँड् बजार।” कपिलले फुसफुसायो।
कमलनाथको पाइला अडियो। “मलाई घरमा मार्छन् कपिल। पोहोर पनि बूढाले गाउँमै र्याकिङ गरे। आमाको आँखामा हेर्नै सकिनँ।” कपिलले हाँसो दबायो। “शिवजिले त भाङ धतुरो खान्छन्। डराउने कुरा के छ?”
दुवै बजारतिर लागे। बाटोको छेउमा शिव मन्दिर थियो। भित्रबाट घण्टीको स्वर आइरहेको थियो। गम्भीर, चेतावनी जस्तो। त्यहीँ पण्डितजी भेटिए।
“कहाँ जाने हतार यति ?” कपिलले लुकाएन। “आज भाङ खाने दिन हो, गुरु।”
पण्डितजीको नजर उनीहरूको आँखाभित्र पस्यो। उनले शिवको नीलकण्ठ मूर्तितिर औँला देखाए। “तिमीहरू नीलकण्ठ हौ ?” दुवै मौन भए।
“शिवले विष पिए, तर आफ्नो सुखकालागि होइन।”
पण्डितजीको स्वर गहिरियो, “संसार बचाउन। विष कण्ठमा अड्कियो, पेटमा होइन। किनकि विष पेटमा पुगेको दिन, शिव पनि साधारण मृत शरीर बन्थे।”
कमलनाथको घाँटी सुक्यो। उसले पोहोरको दृश्य सम्झियो।आफ्नो बाबु, भाङको नशामा, चौतारोमा लडेको। वरिपरि गाउँलेको हाँसो। घरभित्र आमाको चुपचाप रोएको आवाज।
कपिलले पनि पहिलोपटक आफ्नै भविष्य देख्यो।एउटा बाटो, जहाँ सम्मान मरेको थियो, शरीर मात्र बाँकी।घण्टी फेरि बज्यो।
कमलनाथले विस्तारै भन्यो। “हामी शिव होइनौँ, कपिल हामी त आमाको आशा हौँ।”
कपिलले टाउको झुकायो।
दुवैका पाइला फर्किए। बजारतिर होइन, आफ्नै आत्मातिर।
पछाडिबाट पण्डितजीको स्वर आयो।
“विष पिउनु साहस होइन, विष त्याग्नु नै शिवत्व हो।”





