“नेपालीको असार पन्ध्र”

मचिन्द्र खत्री

डेरीको दही दोकानका चिउरा प्लास्टिकका पोकामा
न लानुपर्छ रोपारलाई खाजा हालेर डोकामा।

आउँछ अन्न विदेशबाट फुटानी लाउँनुछ
यो देश मेरो कृषीमा अब्बल यो गीत गाउनुछ।

रोपाइँ गर्ने दिनलाई पनि धान दिवस भन्नेले
के देख्छन् बरा! मङ्सिरको धान कनिका गन्नेले।

संजाल मै हुन्छ उधुम रोपाइँ असार पन्द्रमा
न खेत देख्नु न हिलो टेक्नु न देख्नु चन्द्रमा।

कसैले रोप्छन् गमला भित्र यो खेत जनाई
यिनैले लाउँछन् ब्याडको बिउ त्यो माला बनाई।

यो पन्द्र लाग्छ विशेषगरि फेसबुके कविलाई
ढाकछोप गर्छन् यिनैले सच्चा कृषक छविलाई।

कताको बिउ कताको मल कता छ मुहान
जोरजाम गरि रोपेर खेत पाल्नुछ जहान।

यसै दिन गर्छन् नेताले भाषण मञ्चमा रमाई
एक गाभो बिउ गमले रोपाइँ यतै यो समाई।

हामी चाहिँ धान्छौँ मौलिक पर्व दही चिउरा खाएर
न गाई गोठ न घरका चिउरा बजारकै ल्याएर।