नेपाली साहित्यमा मोतीराम भट्टको योगदान

 

सविना न्यौपाने

नेपाली साहित्य व्योमका चम्किला नक्षत्र, बहुमुखी प्रतिभाका धनी, मोतीराम भट्ट नेपाली साहित्यका निम्ति अद्वितीय व्यक्तित्व हुन् । वि.सं. १९२३ भाद्र २५ गते कुशेऔंसीका दिन काठमाडौंको भोसीको टोलमा पिता दयाराम भट्ट, माता रिपुमर्दिनीदेवी भट्टका सुपुत्रका रूपमा मोतीराम भट्टको जन्म भएको हो ।

माध्यमिककालीन साहित्यका विराट प्रतिभा, मोतीरामले नेपाली साहित्य र पत्रकारिता क्षेत्रमा बिर्सनै नसकिने गुण लगाएका छन् । भक्ति धारामा सीमित प्राथमिक कालको साहित्य परम्परालाई भत्काउँदै माध्यमिक कालीन शृङ्गार धाराको विजारोपण गर्ने श्रेय मोतीरामलाई नै जान्छ । उनी शृङगार धाराका प्रवर्तक र प्रवर्धक दुवै हुन् । त्यसैले सिङ्गो माध्यमिक काललाई मोती युग वा शृङगार युग भन्ने चलन पनि छ ।

बाल्यकाल र शिक्षा-

मोतीराम भट्टको जन्म काठमाडौंमा भए पनि यिनका वंशज भने गुमाउगढबाट बसाइँ सरेर आएका थिए । पण्डित दयाराम भट्ट र रिपुमर्दिनी देवीका प्रथम सन्तान जन्मनासाथ दिवङ्गत भएका थिए । त्यसैले माइला सुपुत्रको रूपमा मोतीरामको जन्म भएको थियो । मोतीरामलाई दीर्घजीवी राख्ने हेतुले उनका मातापिताले नाकको दाहिने पोरा छेडिदिएका थिए । तर यही कारणले साथीहरूले केटी छोरी भनेर जिस्काउने गर्दथे । उनी लजालु स्वभावका भएकाले हाँसी मात्र रहन्थे ।
मोतीराम भट्टको पाँच वर्षको उमेरमा अक्षरारम्भ भएको थियो । उनी ६ वर्षको उमेरमा काशी पुगेका थिए । उनको शिक्षाको प्रारम्भिक जग काशीमा नै बस्यो । उनी त्यहाँको फारसी स्कुलमा भर्ना भई फारसी र उर्दू पढ्न थाले । काशीमा पढ्दा पढ्दै उनको भेट भारतीय साहित्यकार भारतेन्दु हरिशचन्द्रसँग भयो । स्मरण रहोस् भारतेन्दु हरिशचन्द्र भारतीय साहित्यका आधुनिक कालका प्रवर्तक मानिन्छन् । उनी पनि मोतीराम झैँ ३४ वर्षको उमेरमा अल्पायुमै दिवङ्गत भएका थिए । भारतेन्दु हरिशचन्द्रको प्रभावले मोतीरामले, साहित्यका धेरै विधाहरूसँग परिचित हुने मौका पाए । काशीमा बस्दा विस्तारै संस्कृत र अङ्ग्रेजी पढ्ने अवसर पाई दुवै भाषा दक्ष भए । आठ वर्षको उमेरमा यिनको व्रतबन्ध गरियो । साथै मोतीरामले बनारसमै बस्दा नै गजल गाउन तथा प्रसिद्ध सितारवादक पन्नालालबाट सीतार बजाउन सिके ।
१९३७ सालमा आमा र बहिनीसहित मोतीराम नेपाल फर्किए । १५ वर्षको उमेरमा उनको विवाह भयो । त्यसपछि नेपालमै बसेर संस्कृत र अंङ्ग्रेजी पढ्न थाले । मोतीरामले आइ. ए. सम्मको अध्ययन गरेका थिए ।

विचार तथा योगदान

बालकृष्ण समका अनुसार मोतीराम भट्ट देशका प्रत्येक क्षेत्रमा राष्ट्रियता चाहन्थे र त्यसैबाट राष्ट्रको उन्नति हुन्छ भन्ने विचार राख्दथे । स्वदेशी बोल्नु तथा स्वदेशी हेर्नुपर्छ भन्ने सपना देख्दथे । उनी सबैसँग मिलनसार थिए ।
मोतीराम भट्ट नेपाली साहित्यमा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन् । भानुभक्तलाई चिनाउने काम पनि मोतीरामबाटै भएको हो । भट्टले एकपटक बिहेमा जन्ती जाँदा जुवारी खेलेको श्लोक औधी मन पराए । ती श्लोक भानुभक्तले रचना गरेका हुन् भन्ने थाहा पाएपछि भानुभक्तको बारेमा सोधिखोजी गर्न थाले । नेपाली भाषामा राम्रा राम्रा श्लोकहरू भनेको सुन्दा मोतीरामलाई नेपाली भाषा र साहित्यको प्रवर्धन गर्नुपर्छ भन्ने लाग्यो । यसै क्रममा उनले भानुभक्तको बालकाण्ड फेला पारी छपाइदिए । मोतीरामको ज्ञान आर्जन र औपचारिक शिक्षा भारत भए पनि आफ्नो देशको भाषा संस्कृति र साहित्यको श्रृवृद्धिमा सदासर्वका लागिरहे ।
नेपाली पत्रकारिताको सुरुवातकर्ता पनि मोतीराम नै हुन् । नेपाली भाषाको पहिलो पत्रिका ‘गोरखा भारत जीवन’ प्रकाशनका साथै सम्पादन गर्ने कार्य मोतीरामबाटै भएको हो । उनले मोतीराम पुस्तकालय, पाशुपत छापाखाना खोल्ने काम पनि गरे । वनारसमा वस्दा गजल र समस्या ( पूर्ति जस्ता नौला काव्यविधाको प्रवेश नेपाली साहित्यमा गराए । भानुभक्तका रामायण, भक्तमाला, रामगीता प्रश्नोत्तरी जस्ता काव्यलाई सम्पादन गर्ने काम पनि गरे ।
नेपाली साहित्यका प्रथम जीवनी लेखक पनि मोतीराम भट्ट हुन् । वि.सं. १९४८ सालमा मोतीरामले भानुभक्त आचार्यको जीवन चरित्र नामक जीवनीको पुस्तक लेखेका थिए । साथै उनले भानुभक्तका कृतिको समालोचना गरी नेपाली साहित्यमा समालोचनाको आरम्भ गरे । यही कृतिमा भानुभक्तलाई उच्च सम्मान गर्दै आदिकविको उपाधि दिए ।
मोतीराम नेपाली साहित्यका अन्वेषक पनि हुन् । भानुभक्तको कृतिको खोजी गर्ने, पाण्डुलिपि खोजेर छपाउने, कार्यबाट पनि यिनी नेपाली साहित्यका कुशल अन्वेषक थिए भन्ने पुष्टि हुन्छ । मोतीराम भट्ट नाटककार तथा निर्देशक पनि थिए । भट्ट आफैले शकुन्तला, प्रिदर्शिका र पद्मावली जस्ता तीन नाटकहरू लेखेका थिए । आफूले लेखेका नाटक निर्देशन पनि गरे । उनले निर्देशन गरेको नाटक दरबारमा मात्र सीमित भयो ।
मोतीराम भट्टको साहित्यमा सक्रिय समय १५ वर्षजति रह्यो । यस अवधिमा दर्जनौ कृतिहरू लेखे सम्पादन गरे । ती मध्ये मुख्य कृतिहरू यस प्रकार छन् ः
मनोद्वेग प्रवाह (१९४२), प्रह्लाद भक्ति कथा (१९४३), शकुन्तला (१९४४) उषाचरित्र । १९४४), पिकदूत (१९४४) प्रियदर्शिका (१९४९) भानुभक्तको जीवन चरित्र (१९४८) आदि
मोतीराम नेपाली साहित्यको उत्थानका लागि पटुकी कस्ने अलौकिक व्यक्तित्व थिए । नेपालका लागि मरिमेट्ने महान् पुरुष, राष्ट्रिय विभूति मोतीराम नेपाली भाषा साहित्यको लागि व्यक्ति मात्र होइनन् सिङ्गो संस्था नै थिए ।
त्यसैगरी मोतिराम भट्टद्वारा लेखिएको शृङ्गारिक धारको गजलको एक नमुना

यी सानै उमेरदेखि मन् हर्न लागे ।
यिनै सुन्दरीले जुलुम् गर्न लागे ।।
कहाँसम्मको आँट लौ हेर तिनको
रिसाएर आँखा पनि तर्न लागे ।

मोतीरामले नेपाली साहित्यमा आफ्नो मिहिनेत जाँगर र आरधनाबाट एउटा युग नै स्थापित गर्न सफल भए । वि.सं. १९४०—१९७४ सम्म नेपाली साहित्यको माध्यमिक युगलाई हाँकेका पौरखी पुरुष, बौद्धिक नायक सांस्कृतिक योद्धा मोतीराम होनहार व्यक्तित्व हुन् । उनका कृति कवितामा नरनारीको सुन्दरता, मायाप्रीति, भेटघाट तथा विछोडजस्ता भावहरू पाइन्छ भने केन्द्रीय प्रवृत्तिमा भने शृङ्गारिकता पाइन्छ । नेपाली साहित्यमा पहिलो शृङगारिक कवि, प्रथम नेपाली गजलकार, प्रथम पत्रकार, प्रथम जीवनी लेखक, नाटककार, समालोचकका रूपमा मोतीराम परिचित छन् ।

अन्तिम दिनहरू

मोतीराम भट्ट वि.सं. १९५० मा कलकत्तामा आइए परीक्षामा सम्मिलित भए । उनको सम्पूर्ण धयन साहित्य रचनातर्फ मात्र भएकोले अध्ययनमा समय दिन सकेका थिएनन् । त्यसैले उनी अनुत्तीर्ण भए । वि.सं. १९५२ मा फेरि कलकत्ता गए तर त्यही थला परे । अशक्त शरीर लिएर काठमाडौँ फर्के । विषमज्वरले सात महिना ओछ्यानमा थला परे । कुशे औंसकिा दिन रोगले विस्तारै जित्न थाल्यो भने मोतीरामले हार्न, एकतीस लागेकै दिन १९५३ सालमा पशुपति आर्यघाटमा उनको देहावसान भयो ।
मोतीरामका सन्तान थिएनन् । त्यसैले रिपुमर्दिनीदेवीलाई ठुलो चिन्ता थियो । आफ्नो छोराको अन्तिम अवस्था देखेर उनी विह्वल बनेकी थिइन् । आमाको पिर बुझेर मोतीरामले आफूले लेखेका कृतिलाई नै अमर सन्तान ठान्न आग्रह गरेका थिए ।
यसरी नेपाली साहित्यको युगपुरुष ३० वर्षको कलिलो उमेरमै अस्त भए । नेपाली साहित्यलाई समृद्ध र धनी बनाए । मोतीरामले दिएको योगदानको सम्पूर्ण रुपमा कदर हुन नसके पनि केही कार्य भने अवश्यै भएको छ । मोतीरामकै नाममा युवावर्ष मोती पुरस्कार (२०४२) स्थापना गरिएको छ । मोतीरामकै नाममा हुलाक टिकट पनि प्रकाशन गरिएको छ । राष्ट्रिय विभूतिको रूपमा घोषणा गरी मोतीरामको योगदानको कदर गरिएको छ । मोतीरामले नेपाली भाषा साहित्यप्रति देखाएको स्नेह अग्रजप्रतिको सम्मानको भावना आजका सम्पूर्ण नेपाली साहित्यकारहरूले अनुकरण गर्न आवश्यक देखिन्छ ।
अन्त्यमा (गाएर)
गहिराइमा पस्नु पर्छ मोती बनेर आउन ।
सबैको मन मन्दिरमा प्यारो बनेर छाउन ।।
टुप्पामा हुन्न फल जरा बलियो नभइ ।
गुमाउनु पर्छ धेरै समान सबैको पाउन ।।

श्रोतः https://sahityapost.com/top-news/15555