“नेपाल गाथा”


घनश्याम रेग्मी

हिमाल मेरा हिउँले लपक्क
राँस फुल्छन् त्यसमै झपक्क
पहाड छाती मुटु रक्त घोल्दछ
प्रभातमा कोकिल बोल बोल्दछ।

मधेस मेरो सुनको धरा हो
अनाज फल्ने मलिलो गरा हो
फले तराईभरि टन्न अन्न
फराकिलो फाँट छ अन्नपूर्ण।

छ पूर्व मेची जलधार मेरो
र पूर्वको खास यही पँधेरो
दिँदै छ पानी रससिक्त धारा
नदी प्रणाली जिउने सहारा।

अथाह पानी मुटुमा छ मेरो
बहन्छ कोशी सुनको छ घेरो
नशा नशा रक्त उतार्छ खाका
यिनै नदी जीवन सूत्र भाका।

छ गण्डकी तीर्थ महा प्रसिद्ध
जहाँ तपस्यारत खास सिद्ध
पवित्र बग्छन् जल गण्डकीमा
शिला यहाँ छन् हरि शालग्राम।