नैतिक शिक्षा

शुक्रराज कुँवर
धरान १०

साँझपखको समय थियो । शर्मिला आफ्नो घरधन्दामा व्यस्त थिईन् । उनका छोरा सागर स्कूलको गृहकार्य गरिरहेका थिए । केही समय पछि शर्मिलाका पति राजन कार्यालयबाट लखतरान परेर आइपुगे । उनी केही चन्तित र सोचमग्न जस्ता देखिन्थे । ” किन ? के भयो ? चिन्तित जस्तो हाउभाउ छ त ” । शर्मिलाले भनिन् ।
“केही भा छैन । गाउँबाट बुवाको फोन आएको थियो ” ।
” के भयो ? सन्चै त हुनुहुन्छ ? शर्मिलाले संशय व्यक्त गरिन् ।
” सन्चै हुनुहुन्छ । जाडो बढ्यो रे । न्यानो लुगाफाटो किन्न केही पैसा पठाइदे न भन्दै हुनुहुन्थ्यो ” । राजनले भने ।
” कस्तो गाह्रो छ … ! अब कसरी पैसा पठाउनु ” शर्मिला फतफताउन थालिन् ।
हातमुख धुएर चियानास्ता खाँदै गर्दा राजनले उपाय निकाल्दै भने – ” बुवालाई मेरो लुगा ठिक भइहाल्छ । बरु मेरो त्यहीँ पुरानो ज्याकेट,स्वेटर र ट्राउजर पठाइदिनु पर्ला । आमाको पनि तिम्रो जस्तै खिरिलो ज्यान हो । तिम्रो स्वेटर , मजेत्रो र सुतीको सारी पठाइदिए हुँदैन ?”
” अनि हामी चाहिँ के लगाउनु त ? ” शर्मिलाले रुखो स्वरमा भनिन् ।
” हामी बिस्तारै नयाँ लुगा किनौला नि ।” राजनले भने ।
” ठिक छ त्यसो त । गाउँमा बस्ने बुढाबुढीलाई काम चलिहाल्छ ।” शर्मिलाले सन्तुष्ट भावमा भनिन् ।
नैतिक शिक्षाको गृहकार्य गरिरहेका सागरले बाबुआमाको वार्तालाप सुनिरहेका थिए । हजुरबा हजुरआमालाई जडौरी लुगा पठाइ दिन लागेको भन्रे थाह पाएर उनले भने – ” ड्याडी ! यहाँ किताबमा बडाले जे गर्छन् सानाले त्यहीँ कुराको सिको गर्छन् ” भनेर लेखेको छ । म कुरा बुझ्दैछु ।