परीक्षा दिँदैछन् यहाँ बाबुनानी


बसुन्धरा पौडेल

परीक्षा दिँदै छन् यहाँ बाबु नानी
मिलाएर लेख्ने परेको छ बानी
पढी प्रश्नको भाव बुझ्छन् र लेख्छन्
यही पुस्तिकाभित्र संसार देख्छन्।

कुनै प्रश्न लामा र छोटा कुनै छन्
दुबै तर्फका अर्थ लाग्ने कुनै झन्!
हुँदा लेखनीको यहाँ जाँच खास
चनाखो बनी बस्नुपर्ने छ आज।

भए बाबु नानी यता मग्न लेख्न
पुगे प्रश्नभित्रै नयाँ दृश्य देख्न
भरी टन्न पानाहरू थप्न आए
भयो भव्य यो लेखनी भन्न लाए।

यही लेख्न लाएँ निकै रङ्ग मानी
यिनै बाबु नानीहरू का कहानी
गयो जिन्दगी यो बसी साथ शिष्य
यिनै जूनतारा यिनै हुन् भविष्य।