पहिचान

85

किशन पौडेल
हेटौंडा

ऊ सहरको व्यस्त मेट्रो स्टेसनको कुनामा उभिएर भिडको रमिता हेर्दै थियो ।
त्यहाँ विभिन्न देशका नागरिकहरूको आवतजावत बाक्लो देखिन्थ्यो। सबैको बाहिरी आवारण उस्तै- उस्तै लाग्दथ्यो । कुन देशका नागरिकहरु हुन् भन्ने सहजै ठम्याउन त्यति सहज थिएन ।
परदेशको बिरानो ठाउँ उसलाई एक्लोपनाको महशुस भैरहेको थियो । उसका आँखाहरूले त्यहाँ कसैलाई खोजिरहेका थिए । भिडमा धेरै मान्छेहरु आए गए, हराए । कसैलाई कसैको वास्ता थिएन । न कसैले केही सोधे न कोही बोले । को आयो को गयो कसैलाई मतलब थिएन । ऊ निराश हुँदै थियो ।
उसले आफ्नो ब्यागभित्रबाट एउटा नेपाली टोपी निकाल्यो र आफ्नो शिरमा लगायो । गर्वले उसको शिर उच्च देखियो । भीडहरुमा अब उसको पहिचान अलग्गै देखिन थाल्यो ।
केही समयको अन्तरालमा उसको सामुन्ने दुई भद्र पुरुषहरु टुप्लुक्क देखा परे र अभिवादन गर्दै भने – ओहो ! नेपाली भाइ हुनुहुँदोरहेछ “कहिले आउनु भो, नेपालबाट ?”