पहिचान

उमेश कार्की

ऊ लुकेर मीठो आवाजमा बोल्थी। ऊ बोल्न थालेपछि पाखा पखेरामा सन्नाटा छाउँथ्यो। मात्रै एउटै आवाज “को हो?… को हो… ?”
बोलीको कोमलता, माधुर्यताले सुन्नेहरुलाई मन्त्रमुग्ध बनाउँथ्यो। `आफैंलाई पो सोधेको हो कि?´ झैँ लाग्थ्यो र आसपासमा झुमिन्थे। तर ` मै हुँ ´ भन्न कसैले साहस गर्दैन थिए। किनकि सोध्ने चैं को हो त? कसले,कसलाई र किन सोधेको? यहि अनुत्तरित प्रश्नले सबै चुप थिए।
भर्खर पाउला हालेर झ्याम्म परेको मौवाको डालीमा लुकेर कराउदै गरेको उसलाई जुरेलीले पहिलोपल्ट देखेर चिच्याई- “काग।”
“खै….! खै….! नजिकैको डालीमा बसेको पोथी ढुकुरले नजिकिदै सोधी-“कागले यति मीठो बोल्छ त?”
” त्यो काग नै हो, कालो छ।” जुरेलीले स्पष्टीकरण दिई।
” कालो जति सबै काग हुदैनन् ।” जुरेलीले संकेत गरेको डाली नियाल्दै पोथी ढुकुरले भनी।
जुरेलीसँग अर्को तर्क थिएन। चुप लागी। तर दुवैका आँखा भने मौवाको डालीमा नै थिए।ऊ भने उनीहरुसँग छेलिन प्रयास गर्दै थिई।
” अँ ! मैले नि देखेँ। कालो त र´छ तर यो काग हैन।”
“अनि के हो त?”
” यो …” एकाएक उसले पुरानो घटना सम्झी।.एक मध्यान्ह उसकी छिमेकी अन्डा पारेर चारा चर्न उडेकि थिई। यहि मौका छोपेर कालो चराले छिमेकीको चराको अन्डा खाइदियो र आफुले अन्डा पारेर गयो। बिचरी छिमेकी आफ्नै अन्डा सम्झेर ओथारा बसी,बच्चा कोरली।दुखले हुर्काई,अर्काको बंश अर्काको सन्तान। पखेटा लागेपछी गुँड छोडेर हिंडेको थियो बचेरो….।
“पापिनी ,अधर्मी ,निच !” पोथी ढुकुरले पहिचान गरि र जोडले बोली ” यो काग हैन कोइली हो। मीठो बोलेर आफ्नो स्वार्थ सिद्ध गर्ने यसको शैली हो।

खाँदबारी ७, संखुवासभा