
शुक्रराज कुँवर
बलभद्र पथ, धरान १०
टेबुलमा कापी र कलम थियो।
कलमले मस्किदै भन्यो, ” तिम्रो शरीरमा म खेलिन भने तिमी अधुरो रहन्छौ नि ?”
“अनि म छैन भने तिमी कहाँ पोखिन्छौ नि ?”
“तिमी धर्ती सरह हौ ,तिमी माथि पोखिनलाई के को आइतबार ?” कलमले ध्वाँस प्रकट गर्यो। “भो ,भो आफ्नो पुरुषार्थ झार्न नखोज। तिमी आफैँमा पनि अधुरो छौ । यो सौर्य मण्डलमा जति पनि ग्रहहरु छन् आफैँमा पूर्ण छैनन् । एक अर्काको सहारामा अडिएर रहेका छन्। बिना सहारा कोही पूर्ण हुन सक्दैन।”
“ती सौर्य मण्डलको गाथा लेख्ने मै हुँ , थाहा छ ? “आफूलाई अधुरो भनेकोमा कलमलाई खुबै रिस उठ्यो । आफ्नो पुरुषार्थ माथि धावा बोले जस्तो लाग्यो, “म कसरी अधुरो भएँ ? के कमी छ म मा ?” कलम आक्रोशित भयो। “उ त्यहाँ पर,तखतामा हेर त।” कापीले भन्यो।
कलम फनक्क फर्क्यो, उसको नूर गिर्यो। तखतामा मसी मुमुमुसु हाँसिरहेको थियो।





