एलपी पराजुली
कपन, काठमाडौं
“बाइकमा तेल समेत बाउले हाल्दिनु पर्ने ! कस्तो बेगारी छोरो !”
तन्नेरी छोरोलाई साथीले पैसा दिएको देखेपछि मैले यस्तै सोचेँ र अर्ती खपत गर्न तम्सिएँ ।
“के गर्दैछौ बाबू ?”
“खेती गर्दैछु अंकल ।”
“पढ्नमा लण्ठु भएर होला हलो जोत्न थालेछ केटाले ! बरू खाडीतिर गएको भए कमाउँथ्यो नि ।” मनको कुरा मनमै राखेर सोधी टोपलेँ ।
“कति पढ्यौ त ? विदेश पनि गएनछौ ।”
“एग्रीकल्चरमा मास्टर्स सकेँ, सिकेको ज्ञान प्रयोग गर्ने अवसर स्वदेशमा हुँदाहुँदै विदेश नै किन जानू र अंकल ?”
“के खेती गर्दैछौ ?”
“पाँच बिगाहामा केरा खेती सुरु गरेको पहिलो सिजनमै तीन करोडको उत्पादन भयो । अफ सिजनमा खाली बस्दा भनेजस्तो प्रगति हुन्न त्यसैले थप पाँच बिगाहामा खेती बिस्तार गर्दै केराको ब्रान्डीङ्ग सुरु गर्दैछु । खेर जाने केराको बोटबाट रेसा निकालेर कागज, कपडा, जुत्ता लगायतका बस्तु पनि बनाउँदैछु । यसपछि बल्ल बाह्रै महिना काम र दाम मिल्ला । यो वर्ष कम्तीमा सय जनालाई रोजगार दिने लक्ष छ । पूंजीको भने अभावै छ । बैंकहरूले दिने सरकारी अनुदानको कर्जा टाठाबाठाले कुम्ल्याएर हामी जस्ता उद्यमीलाई समस्यामा पारेकाछन् । सही व्यक्तिले अनुदान पाउने व्यवस्था भए नेपाल खाद्यान्नमा आत्मनिर्भर हुन बेर लाग्दैनथ्यो ।”
लाखौं खर्च गरि छोराछोरीलाई विदेश पठाएर गर्व गर्ने प्रवृतिलाई त्यो नपत्याउँदो युवाको विचारले लोप्पा ख्वाइदियो । ट्वाल्ल परेर त्यो उद्यमी युवाको मुहारमा आफ्नो छोराको अनुहार खोज्दै थिएँ उसको आत्मविश्वासपूर्ण भनाइले म झसङ्ग भएँ ।
“सुन फल्ने उर्वर भूमि छ, विदेशमाझैंं मेहनत गरे यतैको कमाइले जित्छ नि ।विदेशमा मात्रै पैसाको बोट हुन्न के रे । “