प्यारो किताब


लिलाराज दाहाल
बागमती११,कर्मैया,सर्लाही

हरिकृष्ण आफुलाई पुस्तक प्रेमी देखाउन चाहन्छ । साहित्यकार हुन चाहन्छ । ऊ सामान किन्ने क्रममा किताब पनि किन्छ । उसले आफ्नो घरमा पुस्तकको लागि एउटा दराज छुट्याएको थियो । तर उसका परिवारले यो कुरा मन पराइरहेका थिएनन्।
उसलाई एकदिन अचानक जुत्ता राख्ने नयाँ र्याकको रहर जागेर आयो । उसले ल्यायो पनि । तर समस्या पनि साथसाथ आइपुग्यो । राख्ने कहाँ ? ऊ निकैबेर घोत्लियो। घर भित्रको बरण्डा छेउमा साहित्य र पाठ्यक्रमका कितावहरुले भरिएको एउटा पुरानो दराज थियो।
उसकी श्रीमतीले भनी, “जुत्ता त जहिले पनि चाहिन्छ । यी कितावहरु त कहिलेकाहीँ मात्र न काममा आउने हुन्। किताबको दराजलाई नै बाहिर निकालौँ।”
उसले श्रीमतीको दबावमा किताबको दराजलाई हेलापूर्वक बाहिर निकाल्यो । केही दिन बरन्डामा नै छोड्यो । त्यहाँ राख्दा पनि उसकी श्रीमती र छोराको चित्त बुझेन । श्रीमती र छोराले भने, “यहाँ पनि भएन । फोहर देखियो। वाहियात कितावहरु किन राख्ने ?”
उसले दराजबाट किताबहरु निकालेर बोरामा खाँद्यो र घर पछाडि लगेर राख्यो।
निकै समय बित्यो। उसको छोरो विकासले विद्यावारिधि गर्न लाग्यो। उसलाई सन्दर्भ सामग्रीका रुपमा पुराना पुस्तकहरु चाहिए।
बाबु छोरा दिनभरि कितावको खोजीमा शहरका पुस्तक पसल पसल चहारे । चाहिएका किताव नपाएपछि घर फर्केर छोराले भन्यो, “बाबा, हामीले फालेका किताबमा काम लाग्ने किताब त थिएनन् ?”
अब उसलाई आफुले बोरामा हालेर घरपछाडि लगेर राखेका पुस्तकहरुको याद आयो। बाबु छोरा दौडेर घर पछाडि गए र किताबहरु हालेको बोरा खोतल्न थाले। छोरालाई चाहिने किताब त बोरा भित्रै रहेछन् !
हत्तपत्त पुस्तक हातमा लिएर छोरो चाहिँ खिन्न भयो, “महत्वपूर्ण पाठ नष्ट भएको पुस्तक के काम !”