अन्जु शर्मा
रातोपुल
“आमा!हजुर र कुकुरमा को ठूलो ?”सानी छोरीको प्रश्नले म तरङ्गित भएँ।
मैले छोरीलाई काखमा लिँदै” तिमीलाई यस्तो प्रश्न गर्न कस्ले सिकायो ?”मीठो भाषामा सोधेँ।
“कस्ले पनि हैन,आफैँ जानेको। हजुरले छोएको कसैले पनि खानुहन्न,पूजाकोठा ,भान्सा कतै पनि जानदिनुहुन्न। अनि हाम्रो काले कुकुर चाहिँ हजुरआमा सँगै तुलसी भगवानको मोठमा जान्छ। हजुरआमाले चढाएको दूध खान्छ। भान्सामा पनि जान्छ।”
“ए म नछुने भएकोले अपवित्र भनेर जान दिनुहुन्न नि!”
” हजुर सधैँभरि नछुने हुनुहुन्छ हो ? हजुरलाई त कहिले पनि पूजा गर्न दिनुहुन्न त हजुरआमाले।”
” म तिम्री हजुरआमा भन्दा तल्लो जातकी पनि हुँ नि; त्यहीँ भएर होला।”
“अनि गोबर सोर्न,जुठाभाँडा माझ्न,बारीको काम गर्न चाहिँ हजुरको जातले हुन्छ?”
“अ: हुन्छ।”
” उसोभए आमा! म कुन जातमा परेँ ? पवित्र कि अपवित्र?”
छोरीको प्रश्नले मेरो टाउको गह्रु’गो भयो ।मैले जातीय ,बर्गीय,नारी स्वतन्त्रताका सबै दफा संझे। परिवर्तन हुन नसकेको समाज संझे अनि भक्कानिएर लडेँ। होसमा आउँदा म अस्पतालको शैयामा थिएँ। छेउको टिभीबाट समचार प्रसारित हुँदै थियो । “घरेलुु हिंसाका कारण नारी अभियान्ताको अवस्था चिन्ताजनक।