सत्या अधिकारी
सानेपा
“बाबा! गरिब भनेको के हो?” गृहकार्य गर्दै गरेको छोराले मलाई सोध्यो।
“सम्पत्तिको नाममा केही नभएकालाई गरिब भन्छन् , बाबू।”
मैले सहजै उत्तर दिएँ ।
ऊ एकछिन टोलायो । मैले सोधेँ , ” के भयो बाबू ? ”
सासै नरोकी ऊ प्रश्नमाथि प्रश्न गर्न थाल्यो,
हाम्रो सगरमाथाको मूल्य कति होला , बाबा ?
पोखराको फेवाताल कतिमा बिक्ला ?
हिमाल ,पहाड र तराईका रहेका हरेक प्राकृतिक सम्पदाको
मूल्य ?
धार्मिक र ऐतिहासिक बहुमूल्य स्थान र वस्तुको मूल्य ?
उसका प्रश्नहरूको वर्षाले मेरो शरीरमा बारुलाले चिलेझैँ अनुभूति भयो । म निरुत्तर भएँ ।
सास तानेर जेनतेन भनेँ ,”यी त हाम्रा सम्पत्ति हुन् जुन हाम्रा लागि
बहुमूल्य छन् । ”
उसको अनुहारमा एक्कासी क्रोधको राँको बल्यो ।
ऊ चिच्यायो , “यति धेरै सम्पत्ति भएर पनि हामी कसरी गरिब भयौँ ? विश्वले किन गरिब देश भनेको त ? “