
अन्जु गौतम
ललितपुर
यात्रुहरुले लगभग कोचाकोच भैसकेको सार्वजनिक बसमा चढ्यौँ हामी । त्यो नै अन्तिम बस भएकोले त्यसमै यात्रा गर्नुको विकल्प पनि थिएन।
गन्तव्य थियो दाङको लमही देखि घोराही सम्म।
त्यति बेला म महेन्द्र क्याम्पस दाङमा, बि.ए प्रथम वर्षमा अध्ययनरत अंग्रेजी साहित्यकी विद्यार्थी थिएँ । अन्तिम परीक्षा आउन ३ दिन मात्र बाँकी थियो।
सार्वजनिक सवारी साधन मार्फत यात्राका सकस अबर्णनीय नै हुन्थे – तर यात्रा अपरिहार्य।
त्यसदिन पनि कुनै सीट कुनै खाली थिएनन् बसमा । ड्राइभर सीट भन्दा पछाडिका २ वटा सिटमा ‘महिला आरक्षण सिट’ लेखिएको रहेछ तर त्यहाँ २ पुरुषहरु बसिरहेका थिए ।
उनीहरूलाई महिला सिटमा देख्दा मलाई यस्तो लाग्यो कि मानौँ मेरो प्रगति र स्वतन्त्रताका बाधक तिनै २ पुरुषहरु हुन । र त्यो सम्पूर्ण महिलाहरु माथिको ठूलो अपमान हो।
अमेरिकी श्यामश्वेत महिला रोजा पार्कले गोरा पुरुषलाई सिट छोड्न् अस्वीकार गरे पश्चात सुरु भएको ‘सिभिल राइट्स मुभमेन्टस् ‘ जस्ता कुराहरूबाट खुब प्रेरित होईन्थ्यो त्यो जमानामा। आफूले पढेका सम्पूर्ण फेमिनिस्ट थिङकरहरुका घागडान थ्योरीहरु सम्झिए मैले।
बिजुलीको गतिमा म उनीहरूको नजिकै पुगेँ अनि चट्याङ् परे झैँ पड्कीए । ‘हाउ डु यु डेयर टु सीट अन ओमन्स सीट ? गेट लस्ट फ्रम हेयर।’
उनीहरू मेरै उमेरका जस्ता देखिन्थे । एउटाले बिनम्रता पूर्वक झ्याल तर्फ बस्नेलाई संकेत गर्दै अनुरोध गरे । “बहिनी, वहा बिरामी हुनुहुन्छ तपाईहरु भन्दा धेरै अघि देखि हामी यो बस कुरेर बसेका थियौँ। तपाईँहरु पछाडि मिलेर बस्नु होस्। ” आफ्नै उमेरका केटाहरुले बैनी भनेको सुनेपछि मेरो रिसको पारो झन् चढ्यो।
‘ह्वाट अ सेम लेस म्यान ‘ – सिटिङ अन ओमेन्स सिट ।
फेरि उनीहरूलाई झम्टौला जस्तो गरेर म र मेरी साथीले भए भरका अंग्रेजी शब्द ओकेलेर गाली गर्यौँ। हाम्रा अंग्रेजी सुनेर त्यति बेला बसमा बसेका धेरै मान्छेहरु वाक्क परे होलान्।
केही सीप नलागे पछि ती दुई जना पुरुष यात्रीहरू उठेर बसको पुछार तिर लागे । त्यसपश्चात उनीहरू माथि के बित्यो हामीलाई मतलब भएन।
म र मेरी साथी बडो विजयी भावका साथ एलन सवाल्टर , भर्जिनिया उल्फ, तसलीमा नस्रिनहरुका महिलावादी दृष्टिकोण , हाम्रो समाजमा महिलाले भोग्नु परेका समस्या आदि इत्यादि बारेमा घागडान दर्शन छाड्दै बसीरह्यो। त्यो जमानामा म हुयुमानिजम नबुझेको रयाडिकल फेमिनिस्ट थिए । पूर्वीय दर्शन, मानवीय मूल्य/ मान्यता र अध्यात्मलाई अत्यधिक महत्त्व दिने पारिवारिक संस्कारमा हुर्किएकी हुनाले मेरो मस्तिष्कमा हरदम – वेस्टर्न फिलोसोफी र इस्टर्न थट बिच अन्तरद्वन्द चलिरहन्थ्यो।
हामी अमेरिकी महिला लेखकहरुका महिला सशक्तिकरण सम्बन्धी किताबहरू/ लेखहरू खोजी खोजी पढ्थ्यौ र आफ्नै कक्षाका केटा साथीहरूलाई कुटौला झैँ गर्दै चर्का चर्की बहस गर्थौ ।
कहिले काँही त हाम्रो मेजर इंग्लिश को ट्युशन कक्षा ‘म्यान भर्सेस ओमेन्’ रेसलिङ जस्तो हुन्थ्यो।
क्याम्पसमा म लगायत अरु पनि प्राय : कलिलै उमेरमा विवाह भै सकेका साथीहरु थिए।
सिन्दुर ,चुरा पोते बहिष्कार आन्दोलनका हामी योद्धा थियौं – यी चीजहरु हामी महिला हुनुका परिचय हुन भन्ने कुरा मान्न हामी तयार थिएनौं । जुन कुरा हाम्रो पहिचान र गर्वका कुराहरू थिए ति कुराहरूलाई दासत्व सँग जोडेर हेरीन्थ्यो । साथीहरु सबै जना हो मा हो मिलाउँथे।
विश्वका महिलावादी आन्दोलनका निडर योद्धाहरु प्रति म श्रद्धाले शिर झुकाउछु। नेपालमा योगमायाले महिला स्वन्त्रता र समानताका लागि चालेका साहसिक कदमहरु आजको परिवर्तनका आधारहरू अवश्य हुन।
तर उनीहरूले लेखेका 2/ 4 वटा किताब पढेर बटुलेको बोक्रे ज्ञानका भरमा आफ्नो देश , संस्कार र परिवेशको गतिलो अध्ययन / रिसर्च बिना जता पनि जाई लाग्ने / निहुँ खोज्दै हिँड्ने मेरो त्यो बेलाको चेतनाको स्तर र ‘सुडो फेमिनिजम’ अचेल आफैँलाई हास्यास्पद लाग्छ।
पुरुष मित्रहरुसँग प्रतिवाद गर्न पाए हामी आफूलाई विजयी अनुभव गर्थ्यौ। हाम्रा सिद्धान्तहरुका जग फेमिनिस्ट थ्योरीहरु मात्र हुन्थे तिनलाई कहिले व्यवहारिकताको कसीमा राखेर जाचियन पनि ।
करिब १ घण्टा लामो त्यो यात्रा भरिनै विश्वव्यापी महिला आन्दोलन र नेपालमा पनि त्यस्तै खाले मुभमेन्ट अत्याबश्यक भएको भनेर गफिदै गर्दा हामी दाङ घोराही पुग्नै लागेका रहेछौ।
सह चालक ज्यूले बहिनी भाडा दिनुस् त भन्न मात्र के पाएका थिए हामीले उनको पनि सातो लियौं -मेडम भन्न सिक्नुहोस हामी तपाईँका दिदी/बहिनी होइनौँ।
उनले अमिलो अनुहार लगाए।
मान्छे पनि एक जीवन्त किताब हो। मान्छेको अनुहार पढेर उसको भावना बुझ्न सक्नु, तिनलाई सम्मान/प्रेम दिन सक्नु बिवेक/ ज्ञान हो ।
तर किताब पढेर मात्र दुनिया बुझिन्छ भन्ने विश्वासमा रहिछु म त्यति बेला ।
बस दाङ घोराहीको ट्राफिक चोकमा पुगेर रोकियो । हामी फटाफट अगाडिको ढोकाबाट ओर्लियौँ।
पछाडिको ढोकाबाट हामीले महिला सीटमा बस्न नदिई गाली गरेर खेदायका २ पुरुष यात्रीहरू ओर्लिए। एक जना निकै सिथिल जस्ता देखिन्थे। बस बाट ओर्लिएर मुस्किलले झोला लतार्दै हिंड्ने कोशिश गरेका उनी सडक छेउमा भुईमै थचक्क बसे अनि रिंगटा लाग्यो भन्दै झोलामा टाउको अड्याएर बाटोमै पल्टिए।
नजिकैबाट चुपचाप त्यो दृश्य नियाली रहेकी म एक छिन त स्तब्ध भएँ। उनी अचेत भएको जस्तो लाग्यो । हतार हतार मैले उनीहरूलाई सहयोग गर्न खोजेँ । रिक्सा बोलाएर महेन्द्र अस्पताल लैजाऊ भन्दै गर्दा उनी मसँग नमिठो गरी कड्किए – “तपाईँको सहयाेग हामीलाई चाहिएको छैन।
झलक्क झल्किने अनुहार भएर मात्र के गर्नु – मानवता छैन भने ।”
“महिला बन्नु भन्दा पहिले एक मान्छे बन्न सिक्नुहोस् मेडम” ।
उनको नाजुक स्वास्थे हालत देखेपछि म भित्रको मान्छे बिउँझियो ।
रिक्सा चढेर महेन्द्र अस्पताल तर्फ जाँदै गरेका उनीहरूलाई हामीले हात जोडेर माफी माग्यौँ – “दाइ, हामीलाई माफ गरिदिनुहोस।” तर उनीहरूले हामीलाई फेरि झपारे – सर भन्नुहोस् , हामी तपाईँहरुका दाइ होइनौँ।
किन हो कुन्नि त्यो दिन मलाई यो ‘सर’ भन्ने शब्द चिसो लाग्यो । आत्मियता नभए जस्तो। प्रेम नभए जस्तो – कस्तो कस्तो ।
सम्झनाहरु अझै उस्तै ताजै छन् कति छिटो बदलिँदो रहेछ समय – धेरै बदली सकेछ दाङ घोराहीको ट्राफिक चोक, जहाँबाट उनीहरू चढेको रिक्सा ओझेल परेको थियो । उनीहरू को थिए, कता गए थाहा भएन- तर लाईफ लेशन दिएर गए । रजनीश ओशो भन्छन् – ” एन अथेन्तिक म्यान डज नट लिभ बाई म्याक्सिमम रुल्स एण्ड कमान्डमेन्टस। नट बाई सो मेनी प्रिन्सिपलस्। अ म्यान सिम्पली लिभ एज म्यान।
म सोच्छु – लियो टल्स टोयका शव्दहरु किन यति सारै सुन्दर छन् ।
“अ म्यान लिभ बाई लभ।”
कहिले काँही सम्झन्छु / कहिले काँही बिर्सन्छु एक अपरिचित पुरुषले थरथर कापेका ओठहरुले बोलेका ती शब्दहरू –
“महिला बन्नु भन्दा पहिले एक मान्छे बन्न सिक्नुहोस म्याडम। ”
वास्तविक अनुभूतिमा आधारित





