
लक्ष्मी रेग्मी खनाल
वालिङ स्याङ्जा
हेर्नुस् ! न बुढा यो नानी आजकल कति खाने भएकी । स्कुलबाट आउन पाको छैन झोलासोला फालेर कुदेर भान्सामा पुग्छे । मैलै आफू अफिस जानू परेकोले खाजा बनाउन नभ्याएको हो । खाजा खाने पैसा दिएकै हुन्छु । ह्या ! बुढी तिमी पनि छोराछोरीले खाको पनि कति चिन्ता हो । उमेरै यस्तै हो । ढुङ्गा खाएनी पचाउने उमेर भन्थे हाम्लाई पनि बा आमाले । नैना भन्छिन – “हैन के बुढा कुरा गम्भीर छ । केही दिन यता यसको लगभग सबै आनीबानी फेरिएको छ। कम बोल्छे । भाइलाई जतिबेलासुकै जिस्काउने मान्छे आजकल आडमा पनि जान्न । कि स्कुलमा केही बिठ्याईँ पो ! गरेकी छ र ? ” रमेश भन्छन – “हैन तिम्रो मन कति पापी हो के छोरी माथि के के शङ्का उपशङ्का गरेकी ?”
हेर्नू बुढा यो समय निकै ख्याल गर्नुपर्ने समय हो । यिनीहरू काँचो माटो हुन । हामी अभिभावक, विद्यालय प्रशासन र स्वयम् विद्यार्थी पनि सचेत हुनुपर्छ । सुन्नुन बुढा बरु छोरीको साथीलाई एकपटक फोन गरेर पो ! सोध्ने हो कि ? मेर त कस्तो मन पेट पोलेको छ । रमेश भन्छन् – “ल न त्यसो भए फोन गर । ” नैनाले छोरीको साथीसँग सबै कुरा गर्छिन् । उताबाट जवाफ आउँछ । अँ के आन्टी आजभोलि वर्षा यस्तै भएकी छ । उसलाई अङग्रेजी त्यति राम्रोसँग नआउने । कक्षाकोठामा घरी घरी कुरा गर्दा पनि उनी नेपाली बोल्ने हुँदा उनले घरबाट ल्याएको सबै पैसा फाइन तिर्दा सकिन्छ । खाजा सेयर गर्न पनि पाइदैन । उनी भोकै बस्नुपर्छ त्यसैले होला स्कुल छुट्टी हुने बित्तिकै उनी हामीलाई नपर्खी कुदेर घर आउँछिन । नैना भन्छिन – “हुन्छ नानी धन्यवाद है ! तिमीलाई । हामीलाई त बर्षाले यो कुरा केही भनेकि छैनन् ।”
रमेशले छोरीलाई सुम्सुमाउँदै भन्छन् – “वर्षा तिमीले किन नभनेको हामीलाई ?” वर्षाले भन्छे- “बाबा मलाई हजुरहरुसँग कुरा गर्न मन थियो तर क्लास टिचरले यो सब तिमी आफैँले डेभलप गर । घर गएर कुरा लायो भने प्राक्टिकल माक्स काट्दिन्छु भन्नु भको छ त्यसैले बाबा ।”





