देव भट्टराई
बज्दैनन् मुरली मृदङ्ग सनही घन्किन्न त्यो मादल ।
ती रोधीघरका दलान छिँडिमा लाग्दैगयो बादल ॥
लाग्छन् आज उजाड गाउँघर ती एकान्त बस्तीसरि ॥
त्यो आनन्द प्रभास रौनक पुन: फर्किन्छ खै के गरी ?
जन्तीभोज विकारिदै शहरमा पार्टी भयो बारमा ।
झर्केथाल तथा दुना र टपरी झार्यौं कुने थालमा ॥
बाजा लोप भए अमोल गरिमा पञ्चे तथा नौमती ।
भाषा संस्कृति धर्म नष्ट गरिए हाम्रो हुने के गति ?
जिग्रीयार रुँदैरुँदै हिँडिगयो खाडी मलायातिर ।
कान्छोभाइ युरोपका शहरमा लेख्दैछ ऊ तग्दिर ॥
आउन्नन् अब चाडपर्व गतिला आनन्द उल्लासका ।
धाउन्नन् मधुमास बाग वनमा नेपाल आकाशमा ॥
खोजी ऐस बसाइँ सर्न कसिए बाँकी बचेकाहरू ।
केही खान पुग्यो धनाढ्य दरिए बिर्सी गए आबरू॥
बन्दैछन् प्रतिवर्ष खण्डहरझैँ पाटी र पौवाहरू ।
देखिन्छन् सुनसान मानिसविना भन्ज्याङ नागीहरू ॥
मीठो गान सुनाउँदैन दिलले एक्लो भई कोइली ।
डाको छोड्छ बिहान साँझ जहिल्यै रोएर त्यो न्याउली ॥
गैरीखेत असारमास बँझियो पाएन कोही हली ।
बिर्खे जान्छु कतार भन्छ बिचरो ! चाँडै बनोस् ऊ धनी ॥
बूढा, बालक मात्र छन् अब कहीं छैनन् मलामीधरि ।
एकाएक बिलासिए नवयुवा फर्काउने के गरी ?
आफ्नै देश प्रदेश गाउँघरमा उद्योगधन्दा गरी ।
पारौं जीवन धन्यधान्य सुकिला फुल्छन् यहीं केसरी ॥