“फूलबुट्टे घाँगर”

गंगा खड्का

फूलबुट्टे घाँगर
लगाइकन जाँगर
लुगा सिउने दिदीले
सिलाइदिइन् विधिले ।

फर्‍याकफुरुक गरेर
जोसजाँगर भरेर
हिँड्न थालेँ रमाई
आमाको हात समाई ।

कपाल बाटी लरक्क
बाको छेउमा सरक्क
बसेँ रम्दै आएर
राम्रो घाँगर लाएर ।

बाले मोबाइल खोलेर
मुस्कुराउँदै बोलेर
फोटो खिच्न थाल्नुभो
फेसबुकमा हाल्नुभो ।

परी जस्ती राम्री
मुटुको टुक्रा हाम्री
भन्दै क्याप्सन लेख्नुभो
घाँगरमा राम्री देख्नुभो ।

ऐना अगाडि गएर
लाजले राती भएर
हेरेँ ऐना रमाउँदै
घाँगरको छेउ समाउँदै ।

बूढानीलकण्ठ काठमाडौँ