“फेरि आन्दोलन नहोस्”


रमेन्द्र कोइराला
इनरुवा-९,बबिया,सुनसरी

“हजुरआमा ! म यो संस्थागत भ्रष्टाचार टुलुटुलु हेरेर बस्न सक्दिन ।” नातिले बिहानको खाना खाएर हात मुख चुठ्दै आक्रोश पोख्यो।
“कस्तो भ्रस्टाचार बाबू ? ” भित्र धसेका आँखाले नातिलाई हेर्दै हजुरआमाले भनिन् ।
“नेताहरूले सुशासन कायम गरेनन् । माथिदेखि तलसम्म भ्रस्टाचार छ । भ्रष्टाचारले देश बन्धक भैसकेको छ।” नाति अझै आक्रोसमै थियो।
“के गर्छस त बाबू ? नेताहरू फटाहा भइगए । हामी के गर्न सक्छौँ र ?”
“अब हाम्रो जेन्जी पुस्ताले गर्छ हजुरआमा । हाम्रो आन्दोलन गर्ने सहमति भैसकेको छ ।” रहस्य खोले झैं नातिले मुख खोल्यो।
“तँ पनि जान्छस त बाबू , मलाई एक्लै छाडेर ।” हजुरआमाको मुख अँध्यारो भयो।
“तपाईँको मुहार हँसाउन नै जान आँटेको हजुरआमा । किन मुख अँध्यारो बनाउनु हुन्छ ?” नातिले सान्त्वना दिन खोज्यो।
“तेरो बुवा पनि यसै भन्थ्यो । देशमा निरङ्कुसता छ , कूशासन छ ,भ्रस्टाचार छ , नेपाल आमाको अनुहार हँसाउनु पर्छ भनेर आन्दोलनमा गएको थियो । तर कहिले फर्केन । पिरले तेरी आमा मरी । जतनले तँलाई हुर्काएको छु । अब तँ पनि जान्छस त ?” हजुरआमाको आँखामा आँसु आयो।
“देशको लागि ज्यानको बलिदान दिन पनि तयार छु हजुरआमा । मलाई नरोक्नुहोस अब ।” नातिले दृढ़ विश्वासका साथ भन्यो । हजुरामाले धेरै रोक्न खोजिन् तर नाति मानेन।
अन्त्यमा उनले यो पनि फर्केला कि नफर्केला जस्तो गरी पीडामिश्रित आवाजमा भनिन् -” जा बाबू जा तर यस्तो आन्दोलन गरेस् कि फेरि देशमा कुनै आन्दोलन गर्नु नपरोस् ।”