“बडामहाराज पृथ्वीनारायण”


अनन्तकुमार बस्नेत

यो राष्ट्रका गहन गौरवपूर्ण तारा
नेपाल भूमि झलमल्ल हुने सितारा
त्यो गोरखा नगरको दरवारभित्र
पृथ्वी सुटुक्कन झरे जगमा सचित्र।

पृथ्वी बने भुवनमा अति नै प्रतापी
साँच्चै कुशाग्र मतिका र सुदूरदर्शी
टुक्रा विभिन्न गणराज्य विशाल पारे
एकत्वको विपुल वृक्ष सगर्व सारे।

यो राष्ट्रको मृदुल सुन्दरता निहार्दै
घुम्ने गरे सतत गोरखनाथ जप्दै
मायाँ दिइन् दिनदिनै मनकामनाले
गर्ने गर्यो सघन चिन्तन कन्दराले।

पृथ्वी भए सकल पूज्य प्रसिद्ध राजा
हो चार जातसँग छत्तिस वर्ण साझा
टुक्रा विभिन्न अब एक बनाउने हो
सीमा र साँध हद कुस्त बढाउने हो।

आपस्तमा दिनहुँ झै- झगडा गरेर
बस्दै थियो मुलुक कष्ट सयौँ खपेर
आत्मीय भाव जगभित्र कतै निभाए
जोडेर राज्य गतिलो बहुतै रमाए।

माला उनी गजबको मृदु एकताको
रक्षा गरेर जगमा जन भावनाको
छोडेर भूमितलमा मधु स्वप्न केही
प्रस्थान अन्तिम गरे तब घाट देवी।