बढी माया

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

धेरै बर्षपछि शिक्षकले आफ्नी चेलीलाई बाटोमा देखेपछि भने “तिम्रो बिवाहपछि आज पहिलोपटक भेट भयो । सबैभन्दा कसको बढी माया लाग्छ नढाँटी भन त ?” चेलीले प्रतिप्रश्न गरिन् ” म हजुरबाट प्रशिक्षित चेली हुँ। आफैँ अनुमान लगाउनुस् त !” शिक्षकले भने” एउटी बिवाहित नारीको लागि पति आधा अङ्ग नै हो । यसैले उहाँ नैं होला।” चेलीको भनाइ रह्यो ” ठ्याक्कै त्यसरी नभनुँ। अर्को भन्नू हुन्छ कि!” शिक्षकले भने” जन्मदिने आमा भने  मैले सयमा सय नम्बर नै पाउँछु कि !” “फेरि एकपटक प्रयास गर्नुहुन्छ कि!” चेलीले कौतुहलता जगाइन्। शिक्षकले सोधे ” अहिलेको जमानामा छोरा वा छोरी एकै हुन्। यसैले आफ्नै एक मात्र सन्तानको सबैभन्दा बढी माया लाग्नु स्वभाविक हो ।” चेलीले हाँस्दै भनिन् ” हामीले राम्रोसँग आत्मनिर्भर नभए सम्म सन्तान नजन्माउने निर्णय लिएका छौँ। अब अर्को अनुमान लगाउनुस् त !” शिक्षकले भने” गिट्टी कुटेर भए पनि राम्रो सँग पढाउनु भएको बुवालाई सबैभन्दा बढी माया लागेको हो कि!” त्यो सुनेपछि चेलीले भनिन् ” सबैभन्दा बढी माया कसको लाग्छ भनेर सोध्नु त्यति न्यायोचित नहुन सक्छ । तर तपाईंलाई नढाँटेर भन्नुपर्दा मैले आफ्नो कर्तव्यलाई नै सबैभन्दा बढी माया गरेकी छु।”