बाेधराज प्याकुरेल
खजुरा,बाँके
स्कुलबाट आउने बित्तिकै विवेकले रुख हेर्याे, रुख जस्ताको त्यस्तै थियो । उसले बिहानको कुरा सम्झ्याे । जुनकुराले उसलाई दिनभर स्कुलमा पढ्न मन पनि लागेको थिएन ।
” के गर्नु भएको बाबा ?”
” बन्चरोको बिँड बनाउन लागेको।”
” यसले के गर्ने ?”
” रुख काट्ने ।”
” किन काट्ने ? ”
” पात झरेर आँगन फाेहर भयाे ।”
” याे रुख नकाटे हुन्न बाबा ? बरु पात म बढार्छु नि ।” बुबाको दाैरा समाउँदै विवेकले भनेकाे थियोे ।
” कति खाेजिनीति चाहिएको यसलाई ,छाेड मलाई ढिलाे भयाे ।” बुबा दश बर्षकाे छाेराेलाई हकार्दै आफ्नाे काममा लागेका थिए।
” म बुढी भए,याे बिरुवाको हेरचाह मेराे नातिले गर्छ,सधैँ पानी हाल्नु है नाति ।” हजुरआमाले चार बर्षअघि त्याे बिरुवा आँगनकाे छेउमा राेपेकाे दिन उसको कपाल मुसार्दै भन्नुभएको कुरा उसले सम्झेकाे थियोे ।
त्यसदिन देखि विवेकलाई त्याे बिरुवा आफ्नै साथी जस्तै लाग्थ्यो । उसले सधैँ बिरुवामा पानी हाल्थ्याे र बिरुवा नजिक उभिएर नाप्थ्याे अनि आफूभन्दा अग्लो भएको भन्दै दाैंतरीहरुलाई देखाउँदै भन्ने गर्थ्याे,” हेर त, मभन्दा एकभित्ता अग्लाे भएछ ।”
” आमा त्यो रुख नकाट्ने भन्नु न बाबालाई ।”
” कुन रुख भन्छ याे, एकगाँस भात खाएन ।” आमाले गनगनाउँदै उसलाई स्कुल बसमा चढाउनु भएको थियो ।
ऊ खुसी हुँदै भित्र पस्यो । बैठक काेठाकाे भित्तामा ठड्याएर राखिएको नयाँ बिँड हालेको बन्चरो देखेपछि भने उसको खुसी एकैछिन पनि रहन पाएन ।