बसाइँ


जानकी कर्माचार्य
हरिसिद्दि, ललितपुर

समिक्षा एकह्रोरो अध्ययन कक्षमा टोलाउँदैथी । प्रवेस उनलाई हेरेर छक्क पर्यो कतिवेर भैसक्यो ऊ कोठा भित्र पसेको।समीक्षाले मतलब नगरे पछि उनलाई झकझकाउँदै सोध्यो ” के भयो किन टोलाएको ?”
“हँ !” भन्दै समीक्षाले झस्किएर प्रवेसलाई हेरिन्।
उनीहरु मिल्ने साथी थिए।
“म भने हिजो खेलेको भिडियो गेम खेल्न आको तिमी त कता हराएर बसेकी नि ?”
समिक्षा अझै टोलाउँदैथी र अनुहार पनि केही मलिन देखिएको थियो।
उनले सुस्तरी बोली ” आज देखि हामी भिडियो गेम नखेलौँ है !”
“किन नि ?” उनको कुरा सुनेर प्रवेस अतालियो।
“अब हामी भिडियो गेम नखेल्ने र कार्टुन पनि नहेर्ने कथाका पुस्तकहरु पढ्ने ल!”
समीक्षालाई पुस्तक पढ्न सानै देखि मन पर्दथ्यो । उनलाई अरु बच्चाहरु जस्तो मोबाइलमा गेमहरु खेल्न कार्टुन हेर्न मन पर्दैन थियो । यसैले उनका बाबाले कथा अनि उनले बुझने खालका विद्वानहरुको जिवनी पुस्तकहरु किन्दिएका थिए । उनी त्यसैमा रमउँथिन तर स्कूल गए पछि बिस्तारै स्क्रिनमा रमाउँदै गइन।
सुरुमा त उनको ममीले हुँदैन भनेपछि उनी मान्थिन तर साथीहरुले पाखे ,गवाँर केही जान्दैन भन्न थालेपछि उनी अझ बढी स्क्रिनमा हराउन थालिन् । अहिले त उठ्ने बितिकै र स्कूलबाट फर्किए पछि पनि प्रवेस र उनी कपडानै नफेरी गेम खेल्न थाल्थे । मानौँ दुबैलाई स्क्रिनको लत नै लागे जस्तो । गेम खेल्न र कार्टुन हेर्ने गरेर दुबै मिल्ने साथी भएका थिए।
“के भनेको ? त्यस्तो गरेर त कसरी बस्न सकिन्छ । म त सक्दिन के ।”
“ल्पिज ! भनेक मानन, तिमी त मेरो मिल्ने साथी हौ नि !”
उनले रुँला झैँ गरेर भनिन्।
“त्यसो भए तिमीलाई के भयो भन न त, अनि मान्छु।”
“आज अघि मेरै अगाडि पुस्तकमा भएका सब अक्षरहरु , तछाड मछाड गरेर ल्यापटप , मोबाइल , टि भी जता भेट्यो उतै बसाइँ सर्न थालेका छन् …!”