रामजी आचार्य
प्यारो छोरा
शुभ आशीर्वाद
धेरै धेरै माया अनि संझना छोरा!
म आरमै छु, तिमीलाई कुशल मङ्गल नै होलाभन्ने पूर्ण विश्वासमा छु । तर बाबु देश र वर्तमान विमारी छ। त्यही पीडाका बीचबाट एउटा पत्र लेख्दै छु । अवश्य पनि तिमीले बुझ्ने नै छौ। छोरा, तिम्रो खुसी नै मेरो खुसी हो भन्ने तिमीलाई थाहा नै होला । म तिमी ठूलो मानिस हैन असल मानव बन्नु भन्ने आशिर्वाद दिन्छु । अनि कति माया गर्छु भन्ने अनुभूति पनि त होला नि है ? हुनत तिम्रो सफलताका बाधक अल्छीपन, आलस्य ,जिद्दी ,घमण्ड गर्दा रोकेँ होला गाली गरेँ होला अनि रातिमा अबेरसम्म मोबाइल खेलाउँदा मोबाइल खोस्दा अनि नेट बन्द गर्दा खुब रिस पनि उठ्यो होला है ? अझ मस्त सुत्दा उठाएर पढ्न लगाउँदा र मोबाइल खोसेर पढभन्दा पनि चित्त बुझेन होला हैन ?
प्रिय छोरा तिमीलाई थाहा छ कि छैन ? एउटा असल अभिभावका नाताले माया गर्ने नाममा म आफ्ना सन्तानलाई परनिरर्भर नबनाउन चाहन्न । त्यसैले कम्तिमा तिमीले उमेरसँगै आफ्नो लुगा आफैँ लगाउन, आफ्नो कोठा/ओछ्यान आफैँ मिलाउन, कोठा सफा गर्न, आफ्नो लुगा आफैँ धुन, खाएको थाल माझ्न, त सक्नु पर्दैन र ? हामीले आमा बुबा मेलापात जाँदा चुल्होमा दाउरा बालेर ८-१० जनाको परिवार सबैलाई खाना पकाउँथ्यौँ तिमीले ग्यास बालेर ३-४ जनालाई कम्तिमा चिया, दाल, भात , तरकारी पकाउन जान्नु पर्दै न र ? हामीले भुटेको मकै रोटी दूध,दही ,मोही खान्थ्यौँ अहिले मम ,चाउचाउ र कोक जङ्गफुड खान्छौ ।यसले स्वास्थ्यमा पार्ने प्रतिकूल प्रभाव ख्याल गर्नु है । प्यारो छोरो मैले तिमीलाई मिहेनत गरेर अध्ययन गर त भने हुँला तर कक्षामा कुन स्थान आयो ? र कति प्रतिशत अङ्क आयो ? भनेर अनावश्यक दवाव र तनाव कहिल्यै दिएको छैन नि हैन ? बरु सकेसम्म कसरी अध्ययनलाई सहज तरिकाले लिन सक्छौ , कसरी बुझाइमा केन्द्रित हुन सक्छौ ? कसरी व्यवहारिक ज्ञान हासिल गर्न सक्छौ भन्ने कुरामा ध्यान दिई सहज वातावरण सृजना गर्न सहयोग गर्ने प्रयास गरे कै छु । व्यस्तता बीचमा पनि समय मिलेसम्म त साँझ – बिहान केही समय तिमीहरूसँग खेल्ने,रमाउने ,प्रयास गरे कै छु । तिमीलाई थाहा नै छ विहानदेखि साँझसम्म काम नगरे यो महङ्गी हामीजस्ता सामान्य मानिसलाई बाच्नै धैधै छ । तरपनि साँझमा केही समय तिमीहरूसँग दिनभरीका कुरा सेयर गर्ने , र तिमीहरुको कुरा सुन्ने प्रयास गरे कै छु । तर छोरा खै किन हो किन टिभी, मोबाइलले अल्ली अल्छी बनाएको छ अनि पठन संस्कृतिमा बाधामात्रा नपुगेर सृजनशीलतामा ह्रास पनि आएको मलाई पनि महसुस भएको छ । अनि इन्टरनेटको सदुपयोग गर्दा त ठिकै हो यसको अनावश्यक प्रयोग र दुरुपयोगले भयावह स्थिति ल्याउन सक्छ भन्ने तिमीले बुझ्नै पर्नेछ । छोरा! मैले तिमीहरूलाई पढ्नको लागि उर्दी जारी गरेर आदेश दिएर म आफू चाहिँ मोबाइल वा टिभीमा तल्लीन भएर त्यस्तो असुहाउँदो व्यवहार कहिल्यै गरेको छु र? मलाई पनि थाहा छ प्रत्येक मानिस आदेश पालना गर्नेभन्दा अनुशरण गर्न मन पराउँछन् । त्यसैले त मैले पनि पुस्तक पढेर , मोबाइलमा ल्यापटपमा पनि कला,साहित्य नयाँ नयाँ ज्ञान विज्ञानका कुराहरु खोज्छु नि । अनि देखे कै हौला नि आफन्त र मान्यजनको आदर सत्कार, समाजमा मैले गरेका मानवीय कर्तव्य, सहयोग। त्यसैले छोरा तिमीलाई मैले ठूलो हैन असल मानिस बन्न आग्रह गरेको । तिमीमा साच्चिकै असल मानवीय भावना , असल मानवीय गुणका बारे ,चेतना र संवेदनशीलता आउनु पर्छ । प्रिय पुत्र ! साच्चिकै मलाई आजभोलि कताकता डर पनि लाग्न थालेको छ । कतै बेगवान नदिको छाल पार गरेर यो भवसागर पार गर्नु पर्नेमा समयको छालसँगै बग्न त पुग्ने हैन ? छोरो तिमीले मेरा भावनालाई पक्का बुझ्ने छौ । मलाइ त लाग्छ तिमीमा सहयोग, मानवीयता र सहानुभुतीजस्ता कुराप्रति विश्वास लागोस् र त्यस्तै गुनको विकास हुँदै जाओस् । तिमीले यो प्रतिस्पर्धामा अब अरुसँग हैन सबैभन्दा पहिले आफैँसँग प्रतिस्पर्धाको लागि तयार हुनु पर्नेछ । बाबू! हुनत तिमीलाई थाहा छैन होला छोरा छोरी भनेका प्रत्येक आमा बाबाका अधुरा सपनाका सपना हुन । उनीहरु आफूले पूरा गर्न नसकेका सपना छोराछोरीबाट पूरा हुने विश्वास र आशामा हुन्छन् ।तर पनि मैले आफ्ना असफल सपनाहरू जबर्जस्ती तिमीहरूमा थुपार्ने प्रयास गरेको छैन । म चाहन्छु तिमीहरू आफैँलाई यो संसार आफ्नै नजरबाट हेर्न सिक र सक र तिमीहरू जे बन्न चाहन्छौ त्यसको बन्न सकभन्ने कामना गरेको छु । छोरो अब त तिमी बुझ्ने भयौ घरको आर्थिक अवस्था तिमीहरूलाई थाहा नै छ । त्यसैले त यो पुँजीवादी शिक्षा प्रणालीमा हामीले पैसा तिरेर पढ्न सक्ने अवस्था नै छैन त्यसैले मैले डाक्टर वा धेरै पैसा खर्चेर पढ्नु पर्ने विषयका बारेमा कुरै उठाइन किनभने भोलि तिमीले पढ्न चाहेर मैले पढाउन सकिन भने मलाई र तिमीलाई पनि हिनता बोध हुन्छ । मैले इमान्दारी रोजेँ यो अत्यन्तै कठिन यात्रा हो भनेर तिमीलाई बेइमानी बन भन्न नि त सक्दिन न नि ।मैले अनैतिक धन्दा चलाएर , भ्रष्टाचार गरेर तिमीलाई सम्पन्न बनाउन र सम्पत्ति जोड्न नसके पनि बाबाको कारण लज्जित भएर हिड्नु पर्ने बनाएको छैन । यो हो ठूलो कमाइ तिमीले पनि भोलि आफ्ना सन्तानलाई दिन सक्नु पर्छ है । पुत्र म तिमीलाई आफैँसँग रहेको आफ्नै अगाडि हिँडेको बोलेको देख्न चाहन्छु तर यसो भन्दैमा तिमीलाई दुःख पाऊ भनेको पटक्कै हैन । आफ्नै देशको माटोमा आफ्नै देशमा केही गर्नु पर्छ भन्ने चाहन्छु । तर यो देशमा इमानको इज्जत नभएको देख्दा खै के भनौँ । तिमीले मलाई तपाईंले देश देश भनेर के पाउनु भयो ? देशको अवस्था कहिले परिवर्तन हुन्छ ? भनेर सोधेका प्रश्नका थुप्रै प्रश्नको उत्तर मसँग छैन । समयले यी सबै प्रश्नको उत्तर दिनेछ । व्यवस्था परिवर्तनको भए पनि जनताको अवस्था परिवर्तन भएको छैन यो परिवर्तन ल्याउन सक्ने योग्य नागरिक देशले खोजेको छ त्यो नेपाल आमाको सपना पूरा गर्ने सन्तान बन्नु भन्ने आशिर्वाद दिँदै यो पत्र बन्द गर्न चाहन्छु ।
उहीँ तिमीबाट परिवर्नको आशा र विश्वासमा।