“बालक”


मुक्ति पोखरेल

छन्द :- पादाकुलक

कलकल झरना छङछङ पानी
हरहर गङ्गे गर्दछ नानी
वरपर अलिकति घुम्छ बिहानी
पढ्दछ कविता नित्य कहानी ।

बोल्दछ सुन्दर वाक्य मिलाई
मुसुमुसु हाँस्ने ओष्ठ खुलाई
राख्तछ पुस्तक खात लगाई
बानी छ राम्रो खेल्छ रमाई ।

अतिशय स्वच्छ छ बालक बेला
सबसँग मिल्दछ छैन झमेला
अलिकति पानी घघ्‌गे रानी
खेल्दछ मिल्दा दामल साथी ।

उठ्छ सबेरै हात पखाली
पढ्दछ पुस्तक पाठ नियाली
सुन्न मजाको मधुमय बोली
लाग्दछ हँसिलो कोमल लोली ।

डुल्छ पिताको हात समाई
खान्छ मिठाई किन्न लगाई
सुलभ छ सजिलो शैशव बेला
शोक न सुर्ता जाल न झेल ।

बालक ईश्वर मूर्ति समान
घरका गहना इज्जत सान
छैन कसैसँग राग र द्वेष
निर्मल कञ्चन शान्त विशेष ।

बालक वय हो काव्यिक धारा
सुललित दिलको रञ्जित सारा
पल्लव पुष्पित दिव्य मुहार
सबमा मिल्ने लोचन तारा ।

उज्ज्वल झलमल सौम्य मुहार
टप्प टिपेझैँ चन्द्र जुहार
वदन छ तारा मान्दछ लाज
शिशु नैँ गर्दछ मनमा राज ।