बाल जिज्ञासा!

128

सुरेशकुमार पाण्डे
दाङ घोराही १८

“बाबा ! हजूर आज दिनैभरी कता जानुभएको।”-राजिव घरभित्र पस्ने बित्तिकै तीन वर्षकी नानीले सोधी। “म आज कार्यक्रममा गएकोथिएं नि नानु।”-राजिवले नानीलाई आफ्नो काखमा राख्दै भन्यो। सर्मिला बढी जिज्ञासु स्वभावकी थिई। “अनि मलाई किन लानुभएन त हजूरले?”- सर्मिलाले प्रश्न राखी। “ओहो हाम्री प्यारी नानुलाई लानेभनेर सारा घरमा खोजेँ तर भेटिन त्यसैले म गएँ।”-राजिवले कारण बतायो। के कार्यक्रम थियो त ?”- “सहिद दिवस मनाउँने कार्यक्रम थियो।”- राजिवले मुस्कुराउँदै भन्यो। “हजुर झुठ बोल्नुहुन्छ!”-सर्मिलाले भित्ता तिर हेर्दै भनी। किन? तिमीलाई झुठ बोलेको जस्तो लाग्यो?”-अहिले राजुले बुझ्न खोज्यो। “हजूर आमाको तस्विर त लिएर जानु भएन नी हजूरले!”- सर्मिलाले आमाको तस्विर तिर इसारा गर्दै भनी। “छोरी हाम्रो आमालाई त सहिद भनिदैन नी।”-राजिवले भन्यो। “हजूरले त यी सबै मरेका जती सहिद हुन भन्नु भएको थियो।” उसले धर्मभक्त,गंगालाल,दशरथ चन्द,शुक्रराज शास्त्रिहरूको तस्विर तिर इसारा गर्दै भनी। “छोरी यहाँहरू स्वतन्त्रताको लागि युद्ध लडेर साहदत प्राप्त गर्नुभयो। तर हाम्रो आमा बुढी भएर आफ्नै कालले मर्नुभएको थियो।”-राजिवले सर्मिलालाई सम्झाउँदै भन्यो।