खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही
“तपाईंको मनमा शान्ति र मुहारमा कान्ति देखियो । कसरी भयो यस्तो नाटकीय परिवर्तन ?”भूपहरिले नरहरिसँग चासो राखे। नरहरिले उत्सुकता जगाउँदै छोटो जवाफ दिए” तपाईंलाई थाहा छैन र ! मैले उनीहरूलाई बिदाई गरे नि!” भूपहरिले अनुमान लगाउँदै भने” हुर्केका छोरीहरूलाई बिदाइ गरेर सक्नु भयो र !” नरहरिक जवाफ रह्यो “उनीहरू अझै पढ्दै छन् ,त्यतातिर सोच्न भ्याएकै छैन । पहिले आफ्नो खुट्टामा राम्रोसँग उभिन सक्ने त होउन् ।” फेरि सोधियो” छोराहरुलाई खाडी तिर पैसा कमाउन बिदाइ गर्नु भएको हो कि ?” जवाफ फर्काए” उनीहरूमा विदेश जाने कल्पना नै छैन । पढाइ सँगै केही सीप सिकेका छन् । देश प्रतिको उनीहरूको मायाले म गर्ववान्वित भएको छु।” भूपहरिले अन्त्यमा सोधे ” परिवारको दायित्वको भारी झन् झन् थपिएको नै रहेछ। भन्नुस् त कसरी आयो तपाईँको मुहारमा शान्ति र कान्ति ?” नरहरिले हाँस्दै जानकारी दिए” तपाईँ पनि चाँडै रिसाउने, अरुको प्रगति देख्न नसक्ने र अपशब्द बोल्ने आफ्नो नानी देखिको बानीलाई सदाको लागि बिदाई गर्नुस् त, तपाईँको मुहार कुनै सुन्दर फूल भन्दा कमी देखिने छैन ।”