चूडामणि नेपाल ‘अकिञ्चन’
विराटनगर १
‘के भयो ? उठनु न भनेको ? मलाई त रिँगटा लागेजस्तो पो भयो त, सुन्नु भएन घर त गर्लाम्मै लडिसक्यो हेर्नु न भनेको ?’ निर्जला रुन थालिन ।
आफु र छोराछोरीलाई कुखुराको पोथीले चल्ला छोपेझैँ छोपेर बेहोस भएका निरजलाई घच्घचाईन । निरजले भूकम्पको पहिलो झट्कामै छानाबाट झर्न पुगेको बलोलाई समाउन पुगेछन् । उनका दुबै हात भाँचिए । तत्काल सोहोरिएर आएको माथिल्लो गाह्रोलाई उनले लात्तले अर्कोपटि ठेल्न भ्याएछन् । ठूलो ढुङ्गो टाउकोमा बजारिन पुगेछ ।
‘जाउ निर्जला आमा बुवालाई हेर छोरा छोरी लिएर बाहिर जाउ । म अब बाँच्दिन होला हेर निर्जला प्रकृतिलाई कसैले जित्न सक्दैन । हामी आफै सुरक्षित हुनु पर्छ । सुरक्षाका उपायहरु अवलम्बन गर्नु पर्छ ।
‘उठ्नु न उठ्नु केही हुन्न उनी अझ भावुक भइन । म तान्छु आउनु ।’ उनले हात दिन सकेनन् ।
बाहिर चुक घोप्टयाएजस्तो अँध्यारो थियो । छोराछोरी निदाएका हुन् कि के भएको हो उनलाई थाहा भएन । आमा बुवाको कोठा पुरै ढुङ्गाले भरिएको थियो । उनी पस्न सकिनन् । उनी आफुहरु सुत्ने कोठमा माथि आउदै थिईन । अकस्मात् बाँकी घर गल्र्याम गुरलुम्म ढल्यो । निरज चिच्याए । पानी देउन निर्जला पानी तर त्यो आवाज कसैले सुनेन ।
बाहिर छोराछोरी रोईरहेका थिए । घरभित्र भग्नावशेषमा निरजको साहस जिउँदै थियो आँट बटुलेर हातले केही समाउन खोजे तर मात्र पाखुराहरु तुर्लङ्ग झुण्डिए ।