रमेशचन्द्र घिमिरे
खलो ताछौं, मियो गाडौं, फुकाऔं कुनियो
दाइँ हाल्ने दिनमा बाबा आए हुनी हो
असारको मेलो सकी विदेश ग’का बाबा
धान थन्क्याउने बेलामा त आए हुन्थ्यो अब
हाम्रै घरको भकारीमा धान भर्नुपर्छ
विदेश जानु सट्टा यहीं काम गर्नुपर्छ
अब जाडो लाग्न थाल्यो स्वीटर किनी ल्याउनू
हजुर नआए रुन्छौं हामी छिट्टै घर आउनू
धान थन्क्याउने दिनमा यौटा काट्छौं रातो भाले
कुरा बुझी फर्किए’नि हुन्थ्यो हाम्रा बाले
घरको काम एक्लै गर्दा आमा थाक्नु भा’छ
भन्नुहुन्छ बेला मौका साह्रै दुःख ला’छ
दयेराको पैँचो तिर्न हजुर आए हुन्थ्यो
कि हजुरले पठाएको पैसा पाए हुन्थ्यो
टौवा हाल्न धान बोक्न चाहिने मुली मान्छे
सक्दैनन् नि यस्तो गर्न केटाकेटी र भान्छे
व्यवहार धान्ने घरमालिक विदेशतिर हुँदा
आत्तिइसक्यौँ आमासँगै हामी रुँदा–रुँदा ।