
दुर्गा बनवासी
उत्साही तथा चेतनशील युवाहरुको सकृयतामा स्थापित ‘कर्मठ युवा क्लब’ को आयोजनामा हिजो धुम्रपान तथा मदिरापान विरोधी जुलुस निस्कियो । जुलुसले मानिसहरुका हातबाट रक्सी र बियरका बोतलहरु, चुरोट, खैनी आदि मागेर र थुतेर आफ्नो अभियान अघि बढायो।
हिजो दिनभरि र्यालीमा हिँडेकाले थकान मेट्न आयोजकहरु बिहानै वनभोज गए । वनभोजबाट फर्किदा उनीहरुको स्थिति देख्ने हर कोहीले उनीहरुको थकान पूर्ण रूपमा मेटिएको महसुस गरे । उनीहरुका मुखबाट आएको रक्सी र चुरोटको गन्ध, सुर न तालका गीत तथा संवादहरु र असन्तुलित नृत्यहरुबाट हिजो जफत गरिएका लागु पदार्थहरुको मज्जैसँग उपयोग भएको कुरा बुझ्न कसैलाई पनि गाह्रो परेन।
बस्।





