“मन्दबुद्धि”

शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

सुन्दर आफ्नो कलेजको समय सकेर घरतर्फ जाँदै थियो। अकस्मात टाढै बाट उसको नजर अगाडि बढिरहेकी केटी माथि पर्न गयो। पछाडि बाट हेर्दा राम्रो कुर्ता-सुरवाल र चम्किलो चुन्नीमा कुनै राजकुमारी भन्दा कम देखेन।सुन्दरको मनमा तर्क वितर्कका कुराहरू खेल्न थाल्यो। नखेलुस् पनि कसरी कलेज पढ्ने जवान केटा नै थियो ! मनमा त्यो केटीलाई पट्याउने बिचार बोकेर छिटो छिटो पाइला सारेर भेटाउने प्रयास गर्यो।

केटी पनि हतारमा भए झैँ ठूला-ठूला पाइला लम्काई रहेकी थिई।
नभेटिने जस्तो मानेर सुन्दरले दौड लगायो। केटी भन्दा अगाडि पुगेर ठिङ्ग उभियो। स्वाँ-स्वाँ गर्दै पट्याउने मनसायले केही भन्न खोज्दै पछाडि फर्कियो। सुन्दरले केटीको अनुहार तर्फ हेर्यो। चाउरी परिसकेको अनुहार र दाँतहरू झरिसकेकी बुढी आइमाई पो परिछ,थुक्क मेरो बुद्धि ! सुन्दरले मनमनै भन्यो। आफ्नो मन्दबुद्धिलाई धिक्कार्दै सुन्दर छिटोछिटो अघि बढ्यो।