“मलाई पढ्न दिनुहोस्”

157

घनश्याम रेग्मी

पढ्ने छ मेरो अहिले उमेर
भयो भयो काम नखाप धेर
माटो र इँट्टा अझ बोक्न बाँकी
गलेर यो देह गएछ थाकी ।

भाँडा जुठा माझ्न म जान्न आमा
त्यो काममा धेर रहन्छ धामा
छ दुष्ट त्यो होटलवाल साहू
तड्पाउँने राक्षस हो कि राहु ।

कच्चा छ मेरो अहिले शरीर
हो ज्ञानको आर्जनको उमेर
पढेर यो देश बनाउने छु
नेपालको गौरव गाउनेछु ।

पढेर मान्छे म बनूँ छ इच्छा
बाबा मलाई दिनुहोस् शुभेच्छा
खेलेर सिक्दै म त पूर्ण बन्छु
यी ज्ञान माला म उनेर राख्छु ।

किताब कापी करले समाई
साथी सँगी साथ यसै रमाइ
भविष्य नक्सा म त कोर्न जाऊँ
नेपाल बारी म सिँगार्न पाऊँ ।

पढ्ने र सिक्ने पथ यी हराए
बाख्रा र गाई अहिले चराए
भविष्य मेरो तुहिने छ पक्का
विकासको मार्ग हुनेछ धक्का ।

तसर्थ आमा र बुवाहरूमा
विन्ती छ मेरो अगुवाहरूमा
नित्कृष्ट यी काम कुनै नलाऊ
उमेर बाँकी रहँदै सिकाऊ ।