महागुरु


राजकुमार कार्की
कटारी-१ उदयपुर

“आज गुरू पूर्णिमाको दिन हो सबेरै उठ्न बाबू !”
आमा महेशलाई कराउँदै हुनुहुन्थ्यो। महेश भने ती श्रद्धेय गुरूहरूलाई सम्झन थाल्यो।
अहिलेसम्म सबैको देन उत्तिकै सराहनीय थियो।
गुरूमा पनि श्रेष्ठ गुरु को हो त ? ऊ एक तमासले घोरिदै थियो।
“छिटो नुहाएर गुरूलाई सम्झेर पूजा गर।”
खै ! कुन गुरुलाई सम्झिऊँ आमा।
महेशको कुरा नटुङ्गिदै ,”सबै उत्तिकै छन् ;भेद गर्नुहुन्न बाबू।”
“गुरु किन महान छन् आमा ?”आमाको धारणा बुझ्ने मनसायले महेश प्रश्न गर्छ।
“गुरु त माझी हुन नि अज्ञानबाट पार लगाउने।”
“अनि आमा बुवा के हुन् नि ?”
आमाको कुरा नसकिँदै महेश बोल्यो।
“आमा बुवाभन्दा पनि ठुला हुन गुरु ।” ,रिसाउँदै आमा आफ्नो बिहानको नित्य काममा लागिन्।
कोठाभित्रबाट सवाल जवाफ गरेको महेश एकाएक कोठाबाट निस्केर पूजाको थाली लिएर आमा छेउमा पुग्छ। “आमा !यता हेर्नू त।” भन्दै टिका लगाइ दियो। मिठाइको टुक्रा खुवाउँदै भन्यो “गुरूपूर्णिमाको शुभकामना आमा!!”