माफी

युगल बसेल
सन्धिखर्क

सहजा र शीरजा दिदीबहिनी हुन् । उनीहरूको घर गाउँमा छ। ढुङ्गा माटाले
बनेको घर लिपपोत राम्ररी गरिएकोले चिटिक्क परेको छ । दुबैजना कलिलै
उमेरका छन् । दिदीको उमेर सात वर्ष पुगेको छ भने बहिनीको उमेर पाँच वर्ष
मात्रै पुगेको छ । दिदीबहिनीका बीचमा असाध्यै मेलजोल र मायाप्रेम छ ।
एक दिनको कुरा हो बिहानीपखको कमलो घाम दलानमा झुल्किँदै थियो। बाबा
कुनै कामले खेततिर गइसक्नुभएको थियो । सहजा घरको मझेरीमा थिइन्।
उनको नजर बुबाले बजारबाट केही दिनअघि किनेर ल्याएका चम्किला सिसाका
गिलासहरूमा पर्‍यो। ती गिलासहरु तखतामा मिलाएर घोप्टाइएका थिए।
एकाएक उनलाई नयाँ र चम्किलो गिलासमा मोही पिउन रहर लाग्यो । बाबाले
बनाएको सानो मेच (स्टुल ) माथि चढेर गिलास पुग्नका लागि उनले तखतातिर
हात लम्काइन् । तैपनि उनका हातले सजिलै गिलास पुग्न सकेन । खुट्टाको
पन्जाको बलमा टिङ्गिँदै तन्किएर पुग्न खोज्दा उनका हात लरबराए । अनि त
दुईवटा गिलास भुइँमा गमर्‍याङ्ग खसे। तखतामुनिकै भागमा सिलौटो राखिएको
थियो । त्यसै सिलौटामा ठोक्किएर दुईवटै गिलास टुक्राटुक्रा भए।
गिलास त्यसरी फुटेको देखेर सहजाको अनुहारको रङ उडेर फुङ्ग भयो । डरले
सातो नै गए जस्तो लाग्यो । आमाको रहर पूरा गर्न बाबाले किनेर ल्याएका
गिलासहरू हप्ता दिन नहुँदै त्यसरी फुटेपछि पक्कै पनि रिसाएर आमाबाबाले
सजाय दिनुहुन्छ भन्ने तर्सो सहजाको मनमा पस्यो। सजायको डरले उनको जिउ
थर्थरायो। आँखाबाट आँसु चुहिए। मुखभित्रको थुक सुकेर खोटो भए जस्तो
उनलाई अनुभव भयो ।
शीरजाले दैलाको सँघारमा उभिएर यो सबै हेरिरहेकी थिइन् । उनले दिदीको
अनुहार पढिन् र दगुर्दै गएर दलानमा घुर बढार्दै गरेकी आमाको हात समाउँदै
अतासिएको बोलीमा भनिन् – “आमा, आमा , दिदीको हातबाट दुईवटा नयाँ
गिलास फुटे। दिदीलाई गाली नगर्नुहोला है। सजाए पनि नदिनुहोला है,बिन्ती छ
।”
यसरी बिन्ती गर्दै गरेकी छोरीतिर आमाले पुलुक्क हेरिन् । शीरजाले मायालाग्दो
अनुहार पारेर फेरि थपिन् – “हामी दुईजनालाई तपाईँहरूले र छिमेकीले औँसी-
पुर्नेमा ,एकादशी – सक्रातीमा टीका लगाएर दिएको दच्छिना हामीले सँगालेर
राखेका छौँ । त्यसै पैसाले त्यस्तै गिलास किनौला नि , आमा ।”
छोरीको कुरा सुनेर आमाको मन झन कमलो भयो। सहजालाई उनले आफू
भएतिर डाकिन्। उनको कपाल मुसार्दै मायालु पारामा आमाले सोधिन् – “के गर्दा
फुटे नानी , गिलास ?”
सहजाले सबै बेली विस्तार लगाइन् । उनको कुरा सुनेपछि आमाले सहजाका
कपाल हातले मिलाएर मुसार्दै भनिन् – “मलाई भनेको भए त भइहाल्थ्यो नि।
नसकी नसकी किन कोशिस गरेकी त ? अबदेखि आफ्नो बर्कतले नभेट्ने काम
गर्न नतम्सिए है।”
सहजाले ´हुन्छ ` भन्दै मुन्टो ढल्काइन् । आमाले फेरि शीरजातिर फर्केर
मुस्कुराउँदै भनिन् – “यो अर्ती तिमीलाई पनि हो नि , है ”
शीरजाले ´हस्` भनिन्।
सहजाको गल्तीलाई आमाले यति सजिलै माफी दिएको देखेर दुवैजना दङ्ग परे।
आमाका गहिरा आँखामा पौडिरहेको माया र करुणा दुबै दिदीबहिनीहरूका नजरले
सजिलै ठम्याए । सजायको झस्को मनबाट गायब भएकोले दुबैजना खुसी भए ।
माफी दिने फराकिलो मन भएकी आमाप्रति दुवै दिदीबहिनीको श्रद्धा र माया
झन् उर्लिएर आयो । अब आइन्दा चकचक वा उपद्रो सकेसम्म नगर्ने  वाचा
उनीहरुले मनमनै गरे।