मास्टर ….

अवतार ढकाल

म विद्यार्थी हुँदा
अगाडि उभिन्छ
यताउता गर्छ
खै केके…. केके …
भनिरहन्छ
लेखिरहन्छ
मलाई सुन्नै मन लाग्दैन
ऊ भन्न छाडदैन।

ऊ आफैं प्रश्न सोध्छ
आफैं जबाफ दिन्छ
यो बुझ भन्छ
यो गर भन्छ
त्यो घोक भन्छ
चुपलाग भन्छ।

कस्तो बोरलाग्दो ?
बन्द नहुने रेडियोजस्तो
रिस उठदो मास्टर ।

म परीक्षार्थी हुँदा
ऊ अगाडि उभिन्छ
यताउता गर्छ
केही बोल्दैन्
प्रश्न सोधौं जस्तो लाग्छ
उत्तर भन्दियोस् जस्तो लाग्छ
चुप लाग भन्छ
हल्ला नगर भन्छ
उत्तर भन्दैन ।
हल्ला नगर भन्छ
कस्तो बोरलाग्दो ?
हिँडने शालिक जस्तो
झ्याउ लाग्दो मास्टर।

मैले नसुन्न खोज्दा
जबरजस्ती सुनाउन खोज्ने
बुझ्न नचाहँदा
जबरजस्ती बुझाउन खोज्ने
मैले सुन्न खोज्दा
बोल्दै नबोल्ने
दिक्क लाग्दो
कहिल्यै भनेजस्तो नहुने
ज्याद्रो मास्टर ।।