खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही
दैलातुङ्ग फाँटमा दुई बर्षको अन्तरालमा भेट भएका नन्दलालले मनोहरलाई भने,” तपाईँले त कति चाँडै चमत्कार गर्नु भए छ नि!”
मनोहरले सोधे ,” त्यस्तो के देख्नु भयो र!”
नन्दलालको भनाइ रह्यो ,” बर्षौं सम्म नजानेको अङ्ग्रेजी सजिलोसँग बोल्न थाल्नु भए छ।”
मनोहर बोल्न उक्साए,” अरु पनि नाटकीय परिवर्तन पाउनु भयो कि !”
नन्दलालले बताए ,” पहिले साह्रै अल्छी र सधैँ उदासी देखिनुहुन्थ्यो,तर अहिले हँसिलो र फुर्तिलो पाइरहेको छु।”
मनोहरले कुरालाई अझै लम्याउन चाहे,” त्यसैगरी अरु पनि देख्न भ्याउनु भयो कि!”
नन्दलालले सुनाए ,” पहिले तपाईँको बोलिमा शिष्टतामा खडेरी परेको पाइन्थ्यो ,तर अहिले हरेक शब्दमा मह र वाक्यमा पौष्टिक तत्व पाइरहेको छु।”
” अनि भन्दै जानुस् ।”
” पहिले खाने र लाउने कुराको सामान्य ज्ञान पनि नभएको महसुस हुन्थ्यो ,तर अहिले ती कुरा तपाईँबाट नै सिक्न सकिने तुल्याउनु भए छ।”
मनोहरले फेरि सोधे ,” तपाईँबाटै सुन्न मनलाग्यो,नढाँटी भन्नुस् त ममा अरु के प्रसंसनीय पाटो देख्नु भयो ?”
नन्दलाले चुङ्गिदै बताए ,” हो म त्यही भन्न खोज्दैछु,तपाईँले यस्तो सीप सिकेर आउनु भएछ,त्यसमा सारा परिवारलाई काम पुग्दोरहेछ। कम्तिमा तपाईँले खाली दिमाग सैतानको घर भन्ने उखानबाट आफ्नो परिवारलाई बचाउनु भयो ।”
” मेरो सफलतालाई दृष्टिगत गर्दा तपाईँलाई केही सोध्न मन लागेको छ कि ?” मनोहरले सोधे ।
नन्दलालले भने,” हुन त अधिकांश मानिसहरु अरुको सफलतामा जल्छन्। तर म खुशी हुने भित्र पर्दछु। मलाई यत्ति जानकारी दिनुस् ,यी सफलता दिलाउने तपाईँका गुरुहरु को को हुनुहुन्छ ?”
मनोहरले सुनाए,” मलाई यी सफलताको शिखरमा पुर्याउनमा मुख्य एउटैको हात छ। अरु त सहयोगी मात्रै हुन्।”
नन्दलालले अचम्म मान्दै सोधे ,” अहो तपाईँले असम्भव लाग्ने कुरा सुनाउनु भयो । ती गुरु थाहा पाएर यी कान पवित्र बनाउन चाहन्छु ।”
मनोहरले स्पष्ट सँग सुनाए ,” राम्रोसँग ठक्कर नपाए सम्म सफलताको राजमार्ग देखिदो रहेन छ। अब त थाहा पाउनु भयो को रहेछ मेरो मुख्य गुरु ?”