“मुरलीको धुन”


रमेशचन्द्र घिमिरे

सुन बाबु सुन सुन नानी सुन
तिरिरिरी मुरलीको कति मिठो धुन

छोटो छोटो दाउरा नै हो बाँसको यो लौरी
लौरीबाट धुन बज्दा छक्क परिन् गौरी

मिठो स्वरमा लय दिने कला उस्तै राम्रो
मान्छे पनि लयालु छन् गला उस्तै राम्रो

मुरलीको स्वर सुन्दा छोड्यो भाइ रुन
तिरिरिरी मुरलीको गजबको धुन

कैले होला यो मनको रहर मेरो पुग्ने
मलाई पनि मन छ दाजै यसै गरी फुक्ने

औँला चाल्दै भाका झिक्न मलाई पनि रहर छ
मुरलीको धुन सुन्दा कोइली दङ्ग पर्छ

मिठो स्वरमा अह्राउँछ ज्ञानी गुनी हुन
तिरिरिरी मुरलीको अति राम्रो धुन।

श्रोतः नेपाली बाल साहित्य