शोभा कोइराला
टुप्पाको मित्रतालाई कसै आफ्नो नसम्झनु
माझीले जाल हानेझैँ जाल हान्छन् नबिर्सनु।
धमिलो पोखरीभित्र पद्म फुल्छन् रमाउन
महासागर सक्दैनन् उही पद्म फुलाउन।
आत्माको दीपले पार्छ स्वयम्लाई प्रकाशित
शुद्धात्म भाव राखेमा मिल्छ आँफै प्रभासित।
दिएको चोटको खोट मेटिदैन कसैगरी
निर्धोलाई रुवाएमा आस्था घट्छ उसैगरी।
मान्छे ता एक नै हुन्छ अनेकौं गुण साथमा
थाहा हुन्न कसैलाई उसको रूप खासमा।
उपदेश दिने चाहिँ असामान्य कहाउँछन्
निर्धोलाई निराधार त्यसै दोष लगाउँछन्।
एकैनास हुँदैहुन्न सारा जीवन पद्धति
मान्छेको भावनालाई मान्छेले बुझ्छ के कति?
पासको भाव भेट्दैन दूरमा भाव भेट्दछ
व्यर्थको जीव हो मान्छे भावना शुद्ध रेट्दछ।
क्षमताको कुरा हुन्न परीक्षा हुन्छ व्यर्थमा
शूचि होस् फेलकै धेर डर्नु हुन्न अव्यर्थमा।
भावमा मिल्छ दुर्भाव मित्रमा झन् अराजक
रूप वामनको धर्दै लुट्न खोज्छन् अनाहक।
विना सङ्घर्ष भेटिन्न लक्ष्यको घर मूलत:
हिंड्नुपर्छ अनिर्णीत हटाई कण्ट अन्तत:।
अहंकार तिरस्कार गर्छ मानिसले किन?
क्षणभङ्गुर संसार भुल्छ अज्ञानले छिन।
महासागरको पानी बग्न रोक्दैन घामले
कविको मनको भाव रोक्न सक्दैन कामले।