मोबाइलको लतले बिगारेको सपना

सानो गाउँको एक होनहार केटो थियो – राजु। उसलाई सधैँ पढ्न मन पर्थ्यो, शिक्षक बन्ने सपना थियो। बिहानै उठ्थ्यो, किताब खोल्थ्यो, बाबुआमालाई सघाउँथ्यो। विद्यालयमा सबै शिक्षकले गर्व गर्थे उसमा।
एकदिन स्कुलको साथीले उसलाई मोबाइल दियो -“राजु, यो चलाएर हेर त गेम कस्तो मज्जाको छ !” राजुले नयाँ कुरा पाएजस्तो चलायो, रमायो। त्यस दिनबाट उसले पढाइभन्दा मोबाइललाई बढी समय दिन थाल्यो।
रातभर गेम, टिकटक, युट्युब। बिहान ढिलो उठ्ने, होमवर्क नगर्ने, कक्षामा झ्याप्प निदाउने। शिक्षकहरूले सम्झाए – “राजु, तिमी यस्तो के गर्दैछौ ? तिमी त भविष्यका आदर्श थियौ !” तर राजु सुनिरहेको थिएन, ऊ मोबाइलको पर्दाभित्र हराएको थियो।
अन्ततः एस.ई.ई. को नतिजा आयो -जहाँ उसले कहिल्यै कल्पना नगरेको कम अंक ल्यायो। सपना ? त्यो त मोबाइलको स्क्रिनभित्र कताकता हरायो।
आज ऊ चौकमा मोबाइल रिपेयर गर्ने सानो पसल चलाउँछ। उसको अनुहारमा पछुतो देखिन्छ “सपना त मेरो ठूलो थियो, तर म त मोबाइलको गुलाम भएछु।”
शिक्षा:
सपना देख्न जरुरी छ, तर त्यसलाई पुरा गर्न धैर्य, मिहिनेत र आत्मअनुशासन अझ जरुरी हुन्छ। मोबाइल प्रयोग गरौँ, तर त्यसको लत लाग्न दिनुहुन्न।

श्रोतः सकारात्मक सोच