
सुरेशकुमार पाण्डे
दाङ घोराही
“लखा ! पढाई गर्नुछैन बिहानै उठेर मोबाईल हेर्छस्।”- प्रसादले आफ्नो आठ क्लासमा पढ्ने छोरालाई एक झापड लगाए। समिर जोडसँग खाटबाट तल खस्यो। उसको दाहिने हातमा गुमचोट लाग्यो। उसलाई असहनीय पिढा भयो। “बाबा ! पढी रहेको त छु ।”- समिर उठ्यो र आफुलाई सम्हाल्दै भन्यो। तर प्रसादलाई रिस उठेको थियो उसले छोराको कुरा सुनेन। “अँझ झुट बोल्छस् ? मैले आफ्नै आँखाले देखेँ । “- प्रसादले हकार्दै भन्यो। समिरको हात दुखीरहेको थियो। कापी छोप्न सकिरहेको थिएन। ” के भयो प्रसादजी किन बाबुलाई हकार्दै हुनुहुन्छ ? “- त्यहीवेला समिरका प्रअ टुप्लुक्कै आइ पुगे। ” सर ! के भनौँ छोरा नै उस्तै हलौँडो भयो। पढाइ गर्दैन बिहानै मोबाईल लिएर बसेको रैछ। ” समिर बाबु त पढाइमा अब्बल छन् ।”-सरले समिरको प्रशंसा गर्दै भने। ” समिर के सुन्छु मैले तिमीले पढाई गर्दैनौँ मोबाईल मात्र हेर्छौ अरे?”- प्र अ.ले समिरलाई सोधे। ” सरले मोबाइलमा काम दिनुभाको छ त्यही कपिमा उतार्दै थिएँ, सर ! “- उसले मोबाइल सरलाई देखाउँदै भन्यो। ” प्रसादजी हजुरको छोराले मोबाइलमा पठाएको काम कापीमा उतार्दैछन्। हजुरले गलत बुझ्नु भएछ।” -प्रअले काम देखाउँदै भने। “ओहो यो हात केभयो त सुन्निएको छ त ?”- प्रअ.ले समिरको हात सुन्निएको देखेर आश्चार्य प्रकट गरे। “सर मेरो खुट्टा लर्किएर लडेँ। “- समिरले भन्यो। नजिकै प्रसाद उभिएर छोराको कुरा सुनिरहेको थियो। सिमारको त्यो शब्दले उसको मन छोयो। उसका आँखा भिजेका थिए।





