मोवाइल

गङ्गा कर्माचार्य पौडेल

छोरीलाई मोबाइल पाएपछि केही चाँहीदैन, दिउँ भने पढाइ बिग्रने डर। नदिउँ रोएर उद्युम गर्छे भन्दै सुशीला फेसबुक खोल्दै थिइन्।
“ममी म आएँ।” पाँचकक्षा पढ्दै गरेकी छोरी स्कूलबाट आइपुगी। बच्चीको स्वर सुन्नासाथ सुशीलाले मोबाइल लुकाउँदै भनिन् “आइपुग्यौ ? ल पहिला ब्याग राखेर हातखुट्टा धोउ । खाजा तयार छ।”
बच्ची होमवर्क गर्न बसेपछि उनी फेरि फेसबुकमा मस्त भइरहेको बेला आएर फेरि मोबाइल माग्दा सुशीला झसङगै भइन्।
उनले सम्झाउँदै भनिन्, “हेर छोरी ! यो मोबाइल चलाउनु भनेको कुलतमा फस्नु जस्तै रहेछ । यसले फाइदा भन्दा बेफाइदा बढी गर्छ। तिम्रो पढाई बिग्रीन सक्छ।
यसले सबैजनालाई बेफाइदानै गर्छ । हेरन बिहान खाना बनाउँदा एकछिन फेसबुक खोलेकी थिएँ । दाल भुसुक्कै डढेर तिमीले तरकारीसँग मात्र खाएर स्कूल जान पर्यो । दुध उम्लेर पोखिने त कति कति ? मोबाइल समातेर बसेपछि समय चिप्लेको पत्तै नपाइने । त्यै भएर मेरी प्यारी छोरीलाई मोबाइल नखेल भनेको नि । मेरी छोरी ज्ञानी छ ।
“नाइँ पहिला मोबाइल दिनुस् न ।”
मैले भनेको मान खुरुक्क । सुशीलाले हप्काइन् । बच्चीले एकछिन गेम खेल्छु भनेर जिद्धी गरी । बालहठ न हो ऊ मान्नेवाला थिइन । एकछिन् खेलेर मलाई देऊ है त भनेर छोरीको हातमा मोबाइल थमाइन् । ऊ मस्त खेल्न थाली । सुशीला भने घरि घरि छोरीतिर हेरेर भन्दै थिइन् छिटो देउ है । मोबाइल बिना त म एकछिन पनि बस्न सक्दिन ।