रमाइलो सङ्क्रान्ति


कपिल लामिछाने

आज माघ महिनाको पहिलो दिन हो । माघे सङ्क्रान्ति पर्व हो । आजबाट सूर्य मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति भनिएको छ । थारू समुदायमा यस पर्वलाई माघी नामले नयाँ वर्षका रूपमा मनाइन्छ । यस पर्वमा खिचडी खाइने भएकाले तराई मधेसमा यसलाई खिचडी पर्व पनि भनिन्छ । ज्योतिषशास्त्रका अनुसार सौर्यमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति भनिएको हो। सामान्यतया सूर्यले सबै राशिलाई प्रभाव पार्ने भए तापनि कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई बढी महत्त्व दिइएको छ। यस दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । सूर्य उत्तरायण भएपछि तातोपन बढ्दै गई गर्मी हुने गर्दछ । यस दिनलाई पवित्र र शुभ दिन मानिन्छ । महाभारतका भीष्मले यही दिन मृत्यु रोजेका थिए भने भगीरथले सोही दिन गङ्गा नदीलाई पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए । यस दिन नेपालमा सार्वजनिक बिदा हुन्छ ।
माघे सङ्क्रान्ति विभिन्न क्रियाकलाप गरेर मनाइन्छ । तीमध्ये एउटा हो, माघे स्नान । यसलाई माघी स्नान भनिन्छ । तराई मधेसमा यसलाई माघी नाहान भनिन्छ । यस दिन बिहानै विभिन्न जलाशय, खोला, नदी तथा त्रिवेणीहरूमा स्नान गरिन्छ । यस अवसरमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई, मादी, सेती आदि नदी, घाट र जलाशयहरूमा स्नान गरेर दान, श्राद्ध आदि गर्नेहरूको ठुलो भिड लाग्छ। पूमेला लाग्छ । जाआजा गरिन्छ ।
माघे सङ्क्रान्तिको अर्को क्रियाकलाप खानपान हो । घिउ, चाकु, तिलको लड्डु, तरुल, सखरखन्न (सुठुनी), खुदो, चिउरा, खिचडी अर्थात् खित्रो आदि खाइन्छ। अघिल्लो दिन अर्थात् पुस मसान्तमै तरुल र सखरखन्न उसिनिन्छ, लड्डु आदि बनाइन्छ । माघमा खाइन्छ । यसलाई पुसमा बनाउने र माघमा खाने भनिन्छ । यस दिनमा तिलको होम र दान गर्नाले वा खानाले सधैँ सफल भइने लोकविश्वास छ । शिशिर ऋतुमा पर्ने यस सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा चिसोबाट बचिने विश्वास गरिन्छ।
यस अवसरमा ठाउँ ठाउँमा मेला लाग्छ । मेलामा नाचगान र रमाइलो पनि गरिन्छ । इलामको माइबेनी, झापाको कन्काई, सुनसरीको बराहक्षेत्र, नुवाकोटको तारूका, गुल्मीको रिडी, पाल्पाको राम्दी आदि स्थानमा भव्य मेला लाग्ने गर्छ । मेलामा बेचबिखन र किनमेल गर्ने, परम्परागत खेल खेल्ने, नाचगान गर्ने, भेटघाट गर्ने गरिन्छ । मैथिली समुदायमा यसलाई तिला सङ्क्रान्ति पर्वका रूपमा मनाइन्छ । बिहान नुहाएर भगवतीको उपासना गर्ने र भगवतीको प्रतिमामा तेल, चामल, सख्खर आदि चढाएर आफूभन्दा कान्छो मानिसको हातमा दिने चलन पनि छ । धार्मिक मान्यताअनुसार भगवान् र भगवती दुवैलाई सम्मान र श्रद्धाका साथ पूजाआजा गरी भगवतीलाई सिन्दुर, चुरा र तिलको लड्डु चढाउने गरिन्छ भने भगवानलाई मिठाई, फलफूल र तिलको लड्डु चढाई खिचडीको भोग लगाइन्छ । यस पर्वमा खिचडी खान अनिवार्य भएकाले यसलाई खिचडी पर्व पनि भनिन्छ ।कर्णाली र सुदूरपश्चिममा यसलाई चेलित्यार भनिन्छ । चेलित्यार भन्नाले चेलीको तिहार वा पर्व भन्ने बुझिन्छ । यस क्षेत्रमा पुस मसान्तका दिनमा तरुल खनेर ल्याइन्छ । पुस मसान्तको राति तरूल, बाबर (सेलरोटी) पकाएर पहिले कागको लागि छुट्याएर पछि घरपरिवारले खाने गरिन्छ । राति पानीको मुहान अथवा पँधेरो नजिकै मुढाहरूको थुप्रो बनाएर आगो बालिन्छ । गाउँका बुढा बुढी तन्नेरी तरुनीहरू मुढाको आगो ताप्न भेला हुन्छन् । मुढा ताप्ने थलामा रातभर नाचगान गर्ने, कथा भन्ने र गाउँखाने कथा हाल्ने गरिन्छ । बिहान भएपछि नुहाएर सबैभन्दा पहिले कागलाई बोलाएर खाना दिने चलन छ । कागलाई बोलाउँदा केटाकेटीहरू “कौवा का का, बाबर खा खा” भन्छन् । त्यसपछि दिनमा सेल रोटी र तरुलका पोका बनाएर चेलीहरूलाई बाँड्ने चलन छ ।
माघ महिनाको पहिलो दिन थारू नयाँ वर्ष हो । यस पर्वलाई थारू समुदायमा माघी नामले भव्य रूपमा मनाइन्छ । पुस मसान्तमा आआफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने प्रचलन छ । माघीमा नै घरपरिवार र गाउँ समुदायमा आगामी वर्षको लागि खेतीपातीलगायत यावत् व्यवहारहरूको समीक्षा र नवीकरण गरिन्छ । माघी महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, वेशभूषा, थारूहरूको मौलिक खानाको परिकार घोंघी, ढिक्री खाइन्छ । सांस्कृतिक झाँकी, नाचगानजस्ता कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ । घर र गाउँको नेतृत्व चयन गरिन्छ । घर सल्लाह गरेर कसलाई के जिम्मेवारी दिने, घरमूली को बन्ने जस्ता कुराको छलफल हुन्छ। गरढु्रै (घरमूली बन्ने) गर्ने, ‘बहरिया’ (घरबाहिरको कामको जिम्मेवारी) आदि कामको जिम्मेवारी परिवर्तन वा नवीकरण गरिन्छ। यही बेला घरमा मिलेर बस्ने या छुट्टिने कुराको समेत सल्लाह हुन्छ। भाइ भाइमा मन नमिले माघीमा नै महटाँवा, बरघरहरूलाई मध्यस्थकर्ताको रूपमा राखेर अंशबण्डा (घर फुटाइ) गरिन्छ । गाउँको विकासका बारेमा गाउँ भेला हुन्छ । वर्षको एकपटक बस्ने गाउँको सो भेलालाई ‘भुरा खेल-ख्याला’ भनिन्छ । गाउँको अगुवालाई ठाउँअनुसार बरघर, ककनदार, भल्मन्सा, महटाँवा पनि भनिन्छ ।
यसरी हेर्दै जाँदा माघे सङ्क्रान्तिमा स्नान, दान, खानपिन, नाचगान गरिन्छ । यस पर्वलाई थारू जातिले माघी भनेर नयाँ वर्षका रूपमा मनाउँछन् भने हिमाल, पहाड र तराईका बसोबास गर्ने बाहुन, छेत्री, राई, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जातजातिले माघे सङ्क्रान्तिलाई आआफ्ना परम्पराअनुसार मनाउने गरेको पाइन्छ । जाडोको मौसम भएकाले यतिखेर घिउ, चाकु, तिलको लड्डु, तरुल, सखरखन्न, खुदो, चिउरा, खिचडी आदि खानाले मनमा उत्साह र शरीरमा ऊर्जा थपिने विश्वास गरिन्छ ।