रिमोट

राजु क्षत्री ‘अपुरो’

छिमेकीको घरमा केबल लाइन जोडेपछि केटाकेटी उतै आकर्षित हुन थाले। यहाँ सम्म कि मेरो आडमा टाँस्सिएर नेपाल टेलिभिजनबाट आएका कार्यक्रम हेर्ने अर्धाङ्गिनी समेत छिमेकीको घरतिर धाएर सिरियल हेर्न थालेपछि बाध्य भएर मैले पनि केबल लाइन जोडिदिएँ । केटाकेटीको खुशीको सिमा रहेन । अर्धाङ्गिनीका आँखाबाट हर्षाशु बगे ।
केटाकेटीहरू स्कुलबाट आउने बित्तिकै होम वर्क सकेर आ -आफ्नो मन परेको कार्यक्रम हेर्थे । म पालो मिलाएर उनीहरूको मन परेको कार्यक्रम लगाइदिन्थेँ । श्रीमतीको सिरियलको पालो आउँदा केटाकेटी चुप लाग्थे । राम्रा फिल्मको पालो आउँदा म आफू रिमोट थिच्थेँ । एवम् रितले हामी मनोरंजन लिने गर्थ्यौ ।
केही दिन यता रिमोटले काम गरि रहेको थिएन । एउटा बटन दवायो अर्को च्यानलको प्रोग्राम आउँथ्यो । च्यानल बटार्दा बटार्दै त्यसले पनि काम गर्न छाडेको थियो । केटाकेटी र अर्धाङ्गिनी आफ्नो मन परेको कार्यक्रम हेर्न नपाउँदा रिस्सिदै मलाई नै कराउँथे । मेसो मिलाएर मैले मेकानिकलाई घर मै बोलाएँ ।
मेकानिकले रिमोट हेर्यो , टिभी खोल्यो । टिभिमा ‘सामान्य गडबडी भएको’ भन्दै मर्मत गरेर दक्षिणा लिदै आफ्नो बाटो लाग्यो । बिहान बनाएको टिभिमा फेरि पुरानै रोग देखा पर्न शुरु भयो ।
उसलाई फेरि झिकाइयो । उसले टिभी चेक गर्यो । सबै पार्टपुर्जा सही सलामत थिए। तैपनि रिमोटले काम गरिरहेको थिएन । नेपाल टेलिभिजन २ लगाउँदा दिल्ली दूरदर्शन १ आउथ्यो। १ लगाउँदा दूरदर्शन २ आउँंथ्यो । फिल्म च्यानल लगाउँदा गीत बज्थ्यो। कार्टुन लगाउँदा सिरियल आउँथ्यो।
केटाकेटी मलाई कराइरहेका थिए ,बाबा यो टिभी नै बिग्रेको हो अर्को ल्याउदिनुहोस् ।
मेकानिकले भन्यो -“नानीहरू, टिभी र रिमोट ठिकठाक छन् । तर रिमोट तिम्रो हातमा भएपनि चलाउने संयन्त्र चाहिँ अरुबाटै परिचालित छ। बुझ्यौ ?”