सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम
घर मास्तिर गोरेटोमा मान्छेहरुको होहल्ला सुनेपछि धनेले हत्तपत्त टेबुलमाथी हेरे,स्टिलको थालमाथि स्टिलकै गिलासको कलश सजिएको थियो। छेवैमा माटोको दियो बल्दै थिए। उनले अस्कोटको भित्री गोजीमा हात छिराए, पलास्टिकको थैलो निकाले, खोले र पचास रूपया झिकेर कलश छेउमा राखे अनि मुसुक्क मुस्कुराए।
समय निकै बित्यो। गोरेटोको मान्छेहरु झरेनन्। उनी आसङ्कित भएर कान थापे। एउटाले आग्रह गर्दै थिए -“घर नछुट्याइ खेल्यौँ न।”
“छ्या! त्यस्तो झोपडीमा नखेलौँ।”अर्कोले सोझै कुरा काटे।
“दियो बल्दै छ त !” पहिलोले सुझाए।
“नाथे! एउटा बलेर हुन्छ ? उ त्यस्तो पो हुनुपर्छ !” भन्दै दोस्रोले मास्तिर औँलाए।
सबैले उँभो हेरे,मण्डलको घर तारा झैँ चमचमाइरहेथ्यो।
केहिक्षण उनीहरु मुखामुख गरेर एकैसाथ भने – “ल,त्यतातिर जाँउ।”
“त्यँहा लक्ष्मी पनि दह्रै मिल्ला नि!” भन्दै दोस्रोले औँलाहरु ख्यासख्यास पार्दै पैसाको इशारा गरे।
तत्क्षणै धने फुत्त बाहिरिए र सम्झाए – “बाबू हो! लक्ष्मी भनेको पैसा होइन है!”